वेबटिभी खबर
बाग्लुङ । अविरल वर्षापछि खसेको पहिरोले ढोरपाटन नगरपालिका-७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ ।
कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ । एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका-७ का तीन सय ५० परिवार बिजुलीबाट बञ्चित भएका हुन् ।
अन्धकारमा बस्नुपर्दा उनीहरूको दैनिकी कष्टकर भएको छ । ‘बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य पनि अँध्यारो नहुँदै सकाउनु परेको छ’, ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भने, ‘मोबाइलसमेत चार्ज गर्न सकिएको छैन् ।’
चाडपर्वका बेला देश-विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्नसमेत नसकिएको उनले गुनासो गरे । ढोरपाटन नगरपालिकाको वडा नं-५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन् ।
गाउँलेकै चन्दाका भरमा एक दशकअघि बनेको उक्त लघुविद्युत् आयोजनाका भरमा स्थानीयले कुटानी, पिसानी तथा विद्यालयमा कम्प्युटर कक्षा चलाएका थिए ।
‘भत्के-बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौं, अहिले त पहिरो खसेर बर्बादै बनायो’, नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भने, ‘चाडपर्वमा बत्ती नभए कसरी खुसी हुने ?’ कायतले स्थानीय युवाहरू परिचालन गरेर अस्थायीरूपमा पानी चलाउने प्रयास भएको बताए ।
भुजीखोलाबाट निकालिएको बिजुलीको झण्डै २० मिटर कुलो पहिराले बगाएको छ । बगेको पहिरो तीन सय मिटर उचाइको छ । भिरमा गएर काम गर्न कठिन भएपछि स्थानीयले जस्तापाता र पाइपबाट पानी कटाएर कुलो चलाउने प्रयास गरिरहेका छन् ।
दिगो व्यवस्थापनका लागि भने स्थानीयले नगरपालिकासँग सहयोग मागेका छन् । वर्षात् नरोकिएकाले तत्काल दिगो व्यवस्थापन गर्न नसकिने अवस्था देखिएको उनले जानकारी दिए ।
‘पहिरो अझै खस्ने जस्तो छ, मौसम ठिक भएपछि मात्रै बनाउने योजना छ’, कायतले भने, ‘अस्थायीरूपमा पानी चलाउन पनि १० लाखभन्दा बढी खर्च हुने अवस्था छ ।’
तीन वर्षअघि भुजीखोलाको बाढीले मुहान बगाएको थियो । मर्मत गरेर चलाएको कुलोको बीच भागमा खसेको पहिराले फेरि विद्युत् अवरूद्ध भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij