Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नवलपुरमा दूध, मासु र अण्डा पर्याप्त उत्पादन 

नवलपुरमा दूध, मासु र अण्डा पर्याप्त उत्पादन 

  • 454
    SHARES
  • नवलपुरमा दूध, मासु र अण्डा पर्याप्त उत्पादन 

    नवलपरासी । पछिल्लो समय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दूध, मासु र अण्डा पर्याप्त उत्पादन भएको छ । दूध, मासु र अण्डा जिल्लामा खपत भएरपनि बाहिर बिक्री हुने गरेको छ ।

    भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरमा प्रमुख डा.ऋषभ गुरागाईँका अनुसार दूध प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर आवश्यकता रहेकोमा नवलपुरमा दुई सय ८१ लिटर उपलब्ध रहेको छ ।

    जिल्लामा प्रतिवर्ष प्रतिव्यक्तिका आधारमा एक सय ९० लिटर बढी दूध उत्पादन हुने गरेको छ । गत वर्षको तथ्यांकअनुसार नवलपुरमा एक लाख सात हजार एक सय ९० मेट्रिक टन दूध उत्पादन भएको थियो । जिल्लाको आवश्यकता भने जम्मा ३४ हजार छ सय ८० मेट्रिक टन रहेको छ ।

    जिल्लामा खपत भएर बाँकी रहेको दूध बाहिर बिक्रीका लागि लैजाने गरिएको छ । कार्यालयले दूधमा उत्पादनमा आधारित अनुदानसमेत उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख गुरागाईँले जानकारी दिए ।

    प्रतिलिटर दूधमा यहाँ सहकारीमार्फत सञ्चालित दुग्ध संकलन केन्द्रबाट सो अनुदान दिने गरिएको छ । ‘दूध उत्पादनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदानसमेत प्रदान गर्दै आएका छौं, यसबाट पनि किसान लाभान्वित भएका छन्’, उनले भने, ‘बजेट पर्याप्त नहुँदा सहकारीलाई निश्चित रकम प्रदान गर्ने गरिएको छ ।’

    यसैगरी मासुमा पनि नवलपुर आत्मर्निभर भएको छ । नवलपुरमा गत आर्थिक वर्षको तथ्यांकअनुसार १२ हजार चार सय ९० मेट्रिक टन मासु उत्पादन भएको छ । जिल्लामा आवश्यकताभन्दा सात हजार एक सय ५५ मेट्रिक टन बढी हो ।

    प्रतिवर्ष प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता रहेकामा नवलपुरमा ३२ दशमलव ७ किलो उपलब्ध रहेको कार्यालय प्रमुख गुरागाईँले बताए । जिल्लाको जनसंख्या र प्रतिव्यक्ति आवश्यकताको तुलनमा अण्डा उत्पादनसमेत धेरै हुने गरेको छ ।

    प्रतिव्यक्ति प्रतिवर्ष ४८ अण्डा आवश्यकता रहेकामा नवलपुरमा प्रतिव्यक्ति प्रतिवर्ष ९० वटाका दरले अण्डाको उपलब्धता रहेको छ । प्रतिव्यक्ति आवश्यकताका आधारमा जिल्लामा अण्डाको उत्पादन धेरै रहेको र बढी भएको उत्पादन जिल्ला बाहिर बिक्री गरिन्छ ।

    दूध, मासु र अण्डा आवश्यकता तथा उपलब्धताका आधारमा बढी उत्पादन भएको छ । माछाको उपलब्धतासमेत जिल्लामा राम्रो रहेको छ ।

    ‘जिल्लामा माछाको उत्पादन पनि राम्रो छ, आवश्यकता प्रतिव्यक्ति कति भनेर पहिचान गरिएको छैन्, यसले गर्दा आत्मनिर्भर नै भन्न सकेका छैनौं’, उनले भने, ‘माछासमेत जिल्ला बाहिर बिक्री गर्ने गरिएको छ ।’

    गत आवको तथ्यांकअनुसार नवलपुरमा ९ सय ३३ मेट्रिक टन माछा उत्पादन भएको थियो । नवलपुरमा पोखरीको संख्या एक हजार पाँच सय १७ रहेको कार्यालयले जनाएको छ । यसबाहेक माछा उत्पादन हुने खोला, नदीजस्ता प्राकृतिक जलाशयको क्षेत्रफल दुई हजार आठ सय ४५ रोपनी छ ।

    सरकारले पशुपक्षीपालन, माछापालनमा विभिन्न अनुदान दिने गर्दा नवलपुरमा यसतर्फ कृषकको आकर्षणसमेत बढ्दै गएको छ । ठूला सहर तथा उद्योगले पशुपक्षीजन्य वस्तु खपत गर्दै आएका छन् । बजारको समस्या नरहेको कार्यालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij