वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुर र कैलालीमा लगाइएको धानबालीमा रोगको समस्या देखिएको छ । किसानले लगाएको सर्ज ५२ जातको धानबालीमा रोगको समस्या देखिएको हो ।
कृषि ज्ञान केन्द्र महेन्द्रनगरका सूचना अधिकारी हरिदत्त जोशीले सर्ज ५२ जातको बीउ लगाएका किसानको धानबालीमा रोगको समस्या देखिएको बताए ।
‘सर्ज ५२ नामको बीउ लगाएका किसानको धानमा रोग देखिएको छ’, उनले भने, ‘यो जातको धानको बीउ हरेक वर्ष परिवर्तन गर्नुपर्छ पुरानो बीउ लगाएका कारण रोग देखिएको हो ।’ उनले किसानलाई यो जातको बीउ नलगाउन आग्रह गरे पनि धेरै किसानले लगाएको जानकारी दिए ।
‘धान लगाउने बेला युरियासँग जिंक मिसावट गरेर हाल्नु पर्ने हुन्छ यस वर्ष किसानले समयमा मल नपाएका कारणले पनि हो’, उनले भने, ‘कैलाली-कञ्चनपुरमा अहिले यही समस्या देखिएको छ ।’
पानीको कमी र बीउ पुरानो भएका कारणले पनि धानबालीमा समस्या देखिन्छ । ‘औसतमा पाँच प्रतिशत जग्गामा लगाएको धानमा रोग लागेको छ’, उनले भने, ‘धान लगाउने बेला किसानले पनि सचेत हुन जरूरी छ ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका-१० तिल्केनीका तुला दत्त जोशीको ६ बिघा जग्गामा लगाएको धान बालीमा रोगले सखाप पारेको छ । उनले लगाएको सर्ज ५२ जातको बीउमा रोगको समस्या देखिएको बताए ।
‘अन्य जातको धानबालीमा समस्या छैन् यसमा मात्रै रोग देखिएको छ’, उनले भने, ‘धानमा बाला नलाग्ने बोट कुहिएर जाने समस्या छ ।’ उनले पाँच बिघा जमिन वार्षिक भाडामा लिएर धानखेती गरिरहेका छन् ।
‘सर्ज, सिन्की, सावित्र र मनसुली चार जातका धान रोपेको छु अरुमा समस्या देखिएन सर्जमा पूरै सखाप छ’, उनले भने, ‘विगतका वर्षमा यस्तो हुन्थेन यो वर्ष मात्रै भयो ।’ वार्षिक ५० हजारमा भाडामा लिएको जग्गामा धान नफलेपछि उनी चिन्तित भएका छन् ।
‘रोग देखिएपछि धानको बोट लगेर कृषि ज्ञान केन्द्रमा कृषि प्राविधिकलाई देखाए रोग पत्ता लगाउन सकिएन’, उनले भने, ‘कृषि प्राविधिकको सल्लाहअनुसार पछि जिंक मिसाएर युरिया हाले त्यसले पनि काम गरेन ।’
कञ्चनपुरमा ४८ हजार आठ सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij