मेलम्ची । इन्द्रावतीका एक युवाले सरकारी जागिर छाडेर पशुपालनमा लागेका छन् । उनले सशस्त्र प्रहरीको जागिर छाडेर अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरेका हुन् ।
इन्द्रावती-४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उनको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उनले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गरेका छन् ।
सशस्त्र प्रहरीमा कार्यरत उनले तेह्र वर्षमै जागिर छोडेर १८ महिनाअघिदेखि पाल्चोकी कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका छन् । ‘म कसैको मातहतमा रहेर जागिर खान मन नलाग्ने मान्छे । कि आफैँ केही गर्छु, कि एकपटक विदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन’, उनले भने ।
वैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदी भिनाजुको सल्लाहबमोजिम उनले नेपालमै केही गर्ने सोच बनाए । गाउँमा केही गरौं भन्ने सोच लिएर कृषि तथा पशुपक्षी फाम दर्ता गरेर ।
सामाजिक सञ्जालमा बढी चाख राख्ने उनले त्यहींबाट बाख्रापालनका बारेमा सिकेर गाउँपालिकामार्फत दुईदिने कुखुरापालनको तालिमसमेत लिए । सुरुमा एक लाख ८० हजार रूपैयाँमा १२ वटा बाख्रा किनेर फार्मको सुरुआत गरे ।
उनको फाममा अहिले ३६ वटा बाख्रा छन् । बाख्रासँगै उनले स्थानीय जातका कुखुरा, एक हजार ५०० ब्रोइलर कुखुरा, तीन वटा भैंसी र एउटा गाई पनि पालेका छन् । व्यावसायिक पशुपालनबाट अहिले मासिक ६०/७० हजार आम्दानी हुने गरेको उनको भनाइ छ ।
करिब १२ रोपनी क्षेत्रफलभित्र रहेको उनको फाममा सात वटा टहरा छन् । हालसम्म संरचना निर्माणदेखि पशुपक्षीसम्ममा उनले २४ लाख लगानी गरिसकेको बताए । ‘आफ्नो परिश्रमसहित हिसाब गर्ने हो भने ४० लाख लगानी भएको छ’, उनले भने ।
उनले स्थानीय जातको बाख्रापालनमा विषेश जोड दिएका छन् । धेरैले उन्नत जातको बाख्रापालनलाई प्राथमिकता दिए पनि उनीलाई स्थानीय जातकै बाख्रापालन गर्न रहर लागेको जानकारी दिए ।
‘उन्नत जातको भन्दा स्थानीय जातको बाख्रापालन गरेर मैले राम्रो आम्दानी गरिरहेको छु’, उनले भने । स्थानीय जातको बाख्रापालन गर्दा खर्च पनि कम हुनुका साथै स्थानीय हावापानीमा सुहाउँदो हुने हुनाले पनि स्थानीय जातको बाख्रापालन गरिरहेको उनको भनाइ छ।
बाख्रा सँगसँगै कुखुराबाट पनि उनले राम्रो आम्दानी गरेका छन् । दश पटक ब्रोइलर कुखुरा बेच्दा छ लाख फाइदा भएको उनको भनाइ छ । उनले १८ महिनाको अवधिमा १३ लाख आम्दानी गरिसकेका छन् ।
उनको फार्ममा दुई वटा दुहुनो भैँसी र एउटा दुहुनो गाई छ । दूध बेचेर पनि राम्रो आम्दानी भइरहेको उनले बताए । ‘दूध बेचेर मात्रै पनि घर खर्च चलेको छ’, उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology