Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

बुइपाको चिस्यान केन्द्र अझै सञ्चालनमा आएन

बुइपाको चिस्यान केन्द्र अझै सञ्चालनमा आएन

  • 55
    SHARES
  • बुइपाको चिस्यान केन्द्र अझै सञ्चालनमा आएन

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको चिस्यान केन्द्र उद्घाटनमै सीमित बनेको छ । उद्घाटन गरेको ६ महिना बित्दा पनि उक्त चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन् ।

    तत्कालीन संघीय सांसद विशाल भट्टराईको संसदीय विकास कोषबाट वितरण गरिएको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र नगरपालिकाको ४० लाखको लागतमा निर्माण गरिएको सो चिस्यान केन्द्र गत चैत २५ गते उद्घाटन गरिएको हो ।

    चिस्यान केन्द्र निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो । तीस टन भाण्डारण क्षमताको चिस्यान केन्द्रमा अहिलेसम्म ताला लगाएको छ ।

    बुइपाको पुरानो व्यापारिक केन्द्र पञ्चदोबाटोमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानले उत्पादन गरेका कृषिउपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामा समेत निर्यात गर्ने योजना बनाइएको थियो ।

    चिस्यान केन्द्रमा राख्दा हरियो तरकारी महिना दिनसम्म र फलफूल चार महिनासम्म सुरक्षित रहने बताइएको थियो । किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणाअनुरूप चिस्यान केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बताए ।

    नगरपालिकाको स्वामित्वमा रहने चिस्यान केन्द्रको रेखदेख वडा कार्यालयले गर्ने बताइए पनि अहिलेसम्म कार्यविधि बनेको छैन् । पञ्चदोबाटोको दुई रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्र उद्घाटन हुँदा बुइपाका स्थानीय कृषक हर्षित भएका थिए ।

    तर चिस्यान केन्द्र सञ्चालनमा नआएपछि अहिले उनीहरू निराश बनेका छन् । जिल्लाभरका किसान तथा कृषक समूहले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूललगायतका कृषिउपज भण्डारण गर्ने गरी बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र जिल्लाकै पहिलो हो ।

    बुइपाका उत्कृष्ट कृषक समूह छनोट गरेर चिस्यान केन्द्र सञ्चालनको जिम्मा दिने तयारी गरिए पनि नगरपालिकाले कार्यविधि नबनाएका कारण सञ्चालन गर्न नसकिएको वडाध्यक्ष दिनेश राईले जानकारी दिए ।

    ‘कृषक समूहले किसानका कृषिउपज भण्डारण गरेबापत मासिकरूपमा नगरपालिकालाई न्यूनतम भाडा बुझाउनुपर्छ’, उनले भने, ‘यसका लागि नगरले कार्यविधि बनाएको छैन् । अब चाँडै कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology