Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

विद्यार्थीलाई विद्यालय पुग्नै समस्या

विद्यार्थीलाई विद्यालय पुग्नै समस्या

  • 539
    SHARES
  • विद्यार्थीलाई विद्यालय पुग्नै समस्या

    दाङ । राप्ती गाउँपालिका–९ घोसखोलाका वीरेन्द्र गाहा जंगल र पहाडै पहाडको तीन घण्टा बाटो हिँडेर विद्यालय पुग्छन् । गाउँमा विद्यालय नभएपछि उनी बंगलाचुली गाउँपालिका–३ भेडाबारीस्थित मुलाबारीमा रहेको माध्यामिक विद्यालयमा पुग्छन् ।

    images

    उनलाई जस्तै बंगलाचुली–५ रोकिनेडाँडाकी जानकी गाहालाई पनि आधारभूत तहको शिक्षा लिन दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ । कक्षा ९ मा अध्ययनरत उनलाई विद्यालय पुग्न करिब दुई घण्टा हिँड्नुपर्छ ।

    उनले भनिन्,‘पढ्नलाई रहर छ, भौगोलिक कठिनाइले पनि उत्तिकै समस्या छ ।’ टाढाका विद्यार्थीलाई विद्यालय बाहेक घरमा पढ्न समय नै नहुने गरेको शिक्षक वीरेन्द्रकुमार न्यौपानेले बताए ।

    उनका अनुसार शिशु कक्षादेखि १२ सम्म करिब छ सय ७० विद्यार्थीले अध्ययन गर्ने सो विद्यालयमा आधाभन्दा बढी विद्यार्थी दैनिक एक घण्टाभन्दा बढी हिँडेर आउँदछन् ।

    प्रधानाध्यापक खगराज लम्सालले विद्यालयमा बंगलाचुली गाउँपालिका–३, ४ र ८, घोराही उपमहानगरपालिका–१ र राप्ती गाउँपालिका–९ का बालबालिका पढ्न आउने गरेका जानकारी दिए ।

    टाढाबाट आउने विद्यार्थी ढिला गरी विद्यालय आउने, थकाइ लाग्ने छिट्टै भोकाउने समस्याले पठन–पाठनमा समस्या हुने गरेको शिक्षक बताउँछन् ।

    यस्तै राजपुर गाउँपालिका–३ करङगा निवासी तारा पुन पनि दुई घण्टा बढी हिँडेर खरदरीयामा रहेको विद्यालयमा पढन् जाने गर्छिन् । घर नजिकैको विद्यालय कक्षा पाँचसम्म मात्रै भएका कारण उनी जस्तै धेरै विद्यार्थीलाई टाढा रहेको विद्यालयबाट शिक्षा लिन सकस हुने गरेको छ ।

    जंगलको बाटो भएका कारण विद्यालय जाने समयमा साथी भएमात्रै जान सकिने ताराको भनाइ छ । हिउँदमा विद्यार्थी घर आइनपुग्दै झमक्क साँझ पर्ने तथा बर्खामा पहिरो, खोला बाढीका कारण अभिभावकको मनमा आफ्ना बालबालिका घर आइनपुगुञ्जेलसम्म डर रहिरहने गरेको अभिभावक बताउँछन् ।

    विभिन्न समस्या हुँदाहुँदै पनि नजिकै विद्यालय नहुँदा टाढाका विद्यालयमा बालबालिकालाई घण्टौं हिँडाएर पठाउनुपर्ने बाध्यता रहेको छ । सरकारले बर्सेनि सुलभ र सहज तरिकाबाट बालबालिकालाई शिक्षा उपलब्ध गराउन विभिन्न कार्यक्रम तथा नारा तय गर्ने गरेको छ ।

    तर ग्रामीण क्षेत्रका बालबालिकाका लागि ती नारा नारामै सीमित बन्ने गरेका छन् । उनीहरूका लागि आधारभूत तहको शिक्षा आर्जनका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । सांकेतिक तस्बिर

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology