काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न माग गर्दै बिहीबार रिट दायर भएको हो ।
अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कूल अफ ल मा अध्ययनरत अविनेश अधिकारीले संयुक्त रिट हालेका हुन् ।
यस्तै मोरङको रंगेली नगरपालिकाका देव शर्माले नागरिकता विधेयक प्रमाणीकरण नगरेकामा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई अर्को रिट पनि हालेका छन् ।
रिटमा राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा ११३ (४) बमोजिम संवैधानिक दायित्व पूरा नगरेको जिकिरसहित परमादेशको माग गरिएको छ ।
देव शर्माले दायर गरेको रिटमा प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु संविधानविपरित हुने जिकिरसहित विधेयक प्रमाणीकरण गर्न उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।
दुवै रिटमा शुक्रबारका लागि पेशी तोकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology