Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बेगनास-रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सम्पन्न गर्न २० अर्ब लाग्ने

बेगनास-रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सम्पन्न गर्न २० अर्ब लाग्ने

  • 283
    SHARES
  • बेगनास-रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सम्पन्न गर्न २० अर्ब लाग्ने

    पोखरा । नेपाल विद्युत् प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास-रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरेको छ ।

    images

    विभागले वातावरण तथा सामाजिक क्षेत्रमा हालसम्म भएका अध्ययन प्रगतिका बारेमा बुधबार पोखरामा सरोकारवालासँग अन्तर्क्रियात्मक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

    नेपालमै पहिलो प्रयोगमा बेगनास-रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि प्राधिकरणको २० अर्ब खर्च लाग्ने प्राधिकरणका उपनिर्देशक रामजी भण्डारीले जानकारी दिए ।

    उक्त जलासययुक्त आयोजनाबाट एक सय ५० मेगावाट जलविद्युत् उत्पादन हुने जानकारी सो अवसरमा दिइएको थियो । २०७४ मा सरकारबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी प्राधिकरणले जलविद्युत् सञ्चालन गर्न वातावरणीय तथा सामाजिक अध्ययन कार्य अगाडि बढाएको थियो ।

    बेगनास तालमा भइरहेको पानीको सतहलाई एक मिटर बढाइ संकलित गरिएको पानीलाई एक किलोमिटर सुरुङ मार्गमार्फत रूपातालको छेउमा विद्युतगृह निर्माण गरी गृहबाट निस्केको पानी रूपातालमा लगेर खसाल्ने र पुनः रुपातालको पानी पम्पमार्फत बेगनासमा नै ल्याइने योजनाका साथ प्राधिकरण निर्माणमा अगाडि बढेको छ ।

    उक्त आयोजनाबाट ‘पिकआवर’ अर्थात साँझको समयमा दैनिक चार घण्टा विद्युत् निकाल्न सकिन्छ, यसले पिकआवरमा हुने विद्युत् अभावलाई केही मात्रामा सहयोग पुर्‍याउने जानकारी प्राधिकरणका प्राविधिक प्रकाश गौडेलले जानकारी दिए ।

    बेगनास तालभन्दा रुपातालमा रहेको पानीको सतह ६८ मिटर गहिराइमा भएकाले रुपातालमा विद्युतगृह सञ्चालन गर्न सजिलो भएको छ ।

    दैनिक अधिकतम साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् उत्पादन गर्न सकिने र यस समयमा बेगनासको पानीको सतह एक मिटरले कम हुने छ राति १२ देखि भोलिपल्ट बिहान ४ बजेसम्म रुपातालमा जम्मा भएको पानी पुनः बेगनासतालमा पम्पमार्फत तानिने छ ।

    बेगनास भन्दा रुपाताल सानो भएकाले बेगनासको पानीको सतहभन्दा एक मिटरमाथिको पानी रुपामा अहिले भइरहेको पानीको सतहभन्दा तीन मिटर उचाइमा पुग्नेछ ।

    अन्तर्क्रिया कार्यक्रममा सहभागी अधिकांश सरोकारवाला निकायका व्यक्तिले वातावरणीय तथा सामाजिक प्रभाव नहुने गरी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन आग्रह गरेका थिए ।

    स्थानीय सरकोकारवाला समेत रहेका पूर्व स्वास्थ्य तथा गृहमन्त्री खगराज अधिकारीले जलचरमा पर्ने असरलाई कम गर्दै तालबाट हुने सिँचाइ, डुंगा व्यवसायी तथा स्थानीयवासीलाई असर नपुग्ने गरी आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    प्राधिकरणले आफ्नो स्वार्थभन्दा पनि स्थानीयवासीको स्वार्थलाई मध्यनजर गर्दै आयोजना अगाडि बढाउनुपर्ने र प्राधिकरणले ठाउँठाउँमा पानीको फोहरा राखेर बेगनासमा पर्यटकलाई एक रात बिताउने गरी संरचना पनि खडा गरिदिनुपर्नेमा उनले जोड दिए ।

    गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग तथा वाणिज्यमन्त्री मणिभद्र शर्मा कँडेलले स्थानीय जनताको सहमति र उनीहरूलाई नै रोजगारीमा सहभागी गराई आयोजना सञ्चालन गर्न आग्रह गरे ।

    गण्डकी प्रदेशका ऊर्जा सचिव डा.सन्तोष कैनीले ‘पीक आवर’का समयमा विद्युत् उत्पादन गर्नका  लागि भनेर आयोजनाले घाटाको योजना सञ्चालन गर्न नहुने बताए ।

    स्थानीयवासी तथा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विद्युत् आयोजनाका नाउँमा बस्ती नै डुब्ने सिञ्चाइ नै बन्द हुने किसिमबाट आयोजना सञ्चालन हुन नुहने जानकारी दिए । साथै उनले वातावरणीय असर केही पनि नहुने किसिमबाट योजना सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    स्थानीय सरोकारबाला तथा बेगनास सिञ्चाइ  सरोकार समितिका पूर्व अध्यक्ष पुष्पराज भण्डारीले  बेगनास तालको पानीले आठ सय ८० हेक्टर  जमिन सिँचाइ भएको र विद्युत् आयोजना सञ्चालन हुँदा स्थानीय उपभोक्ता सिँचाइबाट बञ्चित हुन नहुने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology