वेबटिभी खबर
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकैदिन २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न कार्यालयका २४ जनाविरूद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार बाँके कोहलपुर ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसहित ३ जनाविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरि भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।
यसैगरी, सप्तरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरि भ्रष्टाचार गरेको र जिल्ला कैलाली श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गीता सोडारीविरूद्ध शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरिएको हो ।
जिल्ला सुर्खेत, साविकको घुमखहरे गाविसका तत्कालीन गाविस सचिव खड्कबहादुर रोकाया र देवीलाल सुनार, प्राविधिक सहायक तथा उपभोक्ता समितिका अध्यक्षसहित चारजना उपर सार्वजनिक सम्पत्ति हिनामिना एवं गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।
यसैगरी मालपोत कार्यालय, पर्साका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल विष्णुप्रसाद ढकाल उपर राजस्व हिनामिना गरि भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको जानकारी दिएका प्रवक्ता भण्डारीले भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भीमबहादुर खत्री र नासु रूद्रसेन साहुसहित ६ जनाविरूद्ध गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको बताए ।
त्यस्तै डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दहाल, सहायक वन अधिकृत र उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको उनले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij