वेबटिभी खबर
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँचमा अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको शुभारम्भ गर्दै उनले बीमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासाे तथा असन्तुष्टिसमेत रहेको बताए ।
उनले भने, ‘अहिले नेपालभर समग्रमा बीमाको पहुँच ४१.२ प्रतिशत छ । जसमा सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।’ उनका अनुसार देशभरि विभिन्न बीमा कम्पनीका ३ हजार ३६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा ३२७ छन् ।
उनले भने, ‘अहिले बीमा संस्थानले दिएको प्रत्यक्ष बीमा सन्दर्भका रोजगारी १२ हजार ३१ को संख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा ६८७ मात्रै रहेको छ । यसले के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बीमाको पहुँचबाट अलि टाढाजस्तो छ ।’
अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बीमाको रहेको स्पष्ट पार्दै बीमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने बताए । लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बीमाको मुख्य उद्देश्य रहेको उनले बताए ।
कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बीमाले ठूलो सहयोग गरेको बताए ।
उनले भने, ‘सबै क्षेत्रमा यो बीमा जानु पनि जरुरी छ ।’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बीमालाई व्यापक रूपमा लग्न प्रदेश सरकार तयार रहेको बताए ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रको रूपमा बीमालाई लिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij