तिव्वतमा एउटा बाेध कथा निकै प्रचलित छ । याे कथाका पात्र उल्लु, सर्प र मुसा छन्।
आहारा खोजेर आएका दुई वटा उल्लु जंगलको एउटा रुखको हाँगामा आएर बसे । एउटाले भर्खरै समातेको जिउँदो सर्प र अर्काेले मुसालाई जिउँदै ठुँडमा च्यापेर आरामले खानका लागि रुखको हाँगामा आएर बसेका थिए ।
एकैछिनमा उल्लुको खाना बन्न लागेका सर्प र मुसाले उल्लुलाई पनि गज्जब सन्देश दिन भ्याए । एउटा उल्लुको ठुँडमा भएको सर्पले मुसा देख्नासाथ र्याल चुहाउन थाल्यो । नजिकै आफ्नो आहारा मुसा देख्नासाथ सर्पको जिब्रो रसायो ।
अर्काे उल्लुको ठुँडमा चेपिएको मुसा पनि सर्प देख्नेवित्तिकै मृत्यु भयले एकदमै डरायो । सर्प र मुसा दुबैले एकअर्कालाई देख्नेवित्तिकै आफू मृत्युको मुखमा छु भन्ने कुरा विर्सिए ।
एकअर्कालाई देख्नेवित्तिकै सर्प र मुसा दुबै जीवनको आशाले भरिएजस्ता भए । सर्पलाई मुसा खान पाउँछु भन्ने लोभ र मुसालाई सर्पबाट कसरी जागिने भन्ने भाव जाग्न थाल्यो ।
यी दुबैको हालत देखेर उल्लुहरु भने आश्चर्य चकित भए । एउटा उल्लुले अर्काे उल्लुलाई सोध्यो, ‘भाइ, यसको रहस्य बुझेउ ?’
अर्काेले भन्यो, ‘बुझें । जिव्रोको रस, स्वादको इच्छा यति प्रवल हुँदो रहेछ कि आफू अघिल्तीर रहेको मृत्युसमेत देखिँदो रहेनछ । र यो पनि बुझें कि डर भन्ने कुरा मृत्यु भन्दा पनि ठूलो रहेछ । यो मुसाको मृत्यु तुरुन्त हुँदैछ तर सर्पले हमला गर्छ कि भन्ने डर चाहिँ बढी छ ।’
यो बोध कथामा जस्तै हामी पनि मृत्युसँग भन्दा बढी डरसँग बढी डराइरहेका छौं । स्वाद र इन्द्रीयको लोभमा हामी यसरी फँसेका छौं कि मृत्यु २४सै घण्टा हाम्रो सामुन्ने हुँदा पनि हामीले देख्न सकेका छैनौं ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology