वेबटिभी खबर
काठमाडौं । अतिविपन्न दलित, गरिब, असहाय र अपांगता भएका परिवारका लागि २४ घर निर्माण हुने भएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताले वडानम्बर-२ स्थित कनकपट्टिमा आवास निर्माणको काम शुभारम्भ गर्दै आवासका कारण कसैले दुःख भोग्न नहुने बताए ।
हाललाई तराई मधेस समृद्धि कार्यक्रम र वडानम्बर-२ ले विनियोजन गरेको बजेटबाट आवास निर्माण सुरुआत गरिएको उनले जानकारी दिए ।
उनले भने, ‘बाँकी अन्य लक्षित परिवारका लागि नगरपालिकाको बजेटबाट आवास निर्माणमा सहयोग गरिनेछ ।’
नगरपालिकाका पाँच सय घरधुरीका लागि छानामा जस्तपाताको लागि शहरी विकास मन्त्रालयमा पहल भइरहेको उल्लेख गर्दै नगरप्रमुख गुप्ताले यस क्षेत्रमा आवासको कारणले कुनै पनि जनतालाई दुःख हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
आवास निर्माण कार्यक्रमका लागि तराई मधेस समृद्धि कार्यक्रमको ४० लाख, वडानम्बर-२ कार्यालयबाट १५ लाख र ह्याविट्याट फर ह्युमानिटी नेपाल र महुली सामुदायिक विकास केन्द्रको ५५ लाख गरि कूल एक करोड १० लाख रूपैयाँ संकलन भएकाे छ ।
सामुदायिक आवास मोडेलको १४ घर र अतिविपन्न, गरिव, असहाय, असुरक्षित र अपांगगता भएको १० परिवारका लागि हिल्टी मोडलको घर गरि २४ वटा घर निर्माण गरिने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जनताको जीवनस्तर उकास्ने काममा सहयोगी संस्थासँग सहकार्य गरिने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij