वेबटिभी खबर
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।
स्वीडेनमा आज आयोजित गैरआवासीय नेपाली संघ, एनआरएनको युरोप क्षेत्रीय १४ औं बैठकलाई सम्बोधन गर्दै उनले युरोपमा रहेका सबै नेपालीहरूलाई त्यहाँ आर्जन गरेको समृद्धि नेपाल भित्र्याउन तथा युरोपका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गरेका हुन् ।
सो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘युरोप होस् या संसारका विभिन्न देशमा नेपालीहरू ज्ञान, सीप, पूँजी र प्रविधि आर्जनका लागि रहने गरेका छन्, आफ्ना यी आर्जनहरूलाई नेपाल भित्र्याउँ, हाम्रो देशको समृद्धि पनि धेरै टाढा छैन् ।’
कतिपय एनआरएन एवम् लगानीकर्ताहरूले नेपालमा लगानीको वातावरण छैन भन्ने गरेको प्रसंग उल्लेख गर्दै उनले भने ‘नेपालमा लगानीको वातावरण नभएको होइन, निजी क्षेत्रको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघले पनि आवश्यकता अनुसार सहजीकरण गर्नेछ, नेपालका लगानीको यो उचित समय पनि हो, त्यसैले नेपालमा लगानीका लागि म सबै एनआरएका साथीहरूलाई आग्रह गर्दछु ।’
अहिले आफूले आर्जन गरेको पूँजी स्वदेशका लागि र हाम्रै सन्ततिका लागि नेपालमै लगानी गर्नुपर्ने उनको आग्रह थियो । आफूहरू एनआरएनसँगको संयुक्त लगानीमा काम गर्न इच्छुक रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजना यस्तै संयुक्त लगानीबाट सफल भई विद्युत उत्पादन हुन थालिसकेको उदाहरण पनि पेस गरे ।
नेपालका विशेषगरी अहिले जलविद्युत, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानी गरेर प्रतिफल लिन सकिने बताउँदै उनले नेपालमा लगानीका यस्ता कैयौं सम्भावना रहेकाले यसबाट लाभ उठाउन विभिन्न उदाहरण बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij