Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ओझेलमा दार्चुलाको भगनाशेष ‘उकु महल’

ओझेलमा दार्चुलाको भगनाशेष ‘उकु महल’

  • 591
    SHARES
  • ओझेलमा दार्चुलाको भगनाशेष ‘उकु महल’

    दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा रहेको ‘उकु महल’ संरक्षण नहुँदा ओझेलमा परेको छ । यहाँको मालिकार्जुन-६ मा रहेको भग्नावशेष ‘उकु महल’ संरक्षण नहुँदा ओझेलमा पर्न थालेको हो ।

    विगतका वर्षमा उकु भग्नावशेषको अवस्थाबारे अध्ययन, अन्वेषण एवमे खोजी गर्न गाउँपालिकाले प्रस्तावअनुसार टोली आए पनि अहिलेसम्म संरक्षण गरिएको छैन । स्थानीय सरकारले चासो नदेखाउँदा जिल्लामा रहेका कतिपय पर्यटकीयस्थल ओझेलमा परेका हुन् ।

    परापूर्वकालको पुरानो दरबारको भग्नावशेषकारूपमा रहेको ठाउँको अध्ययन अन्वेषण र संरक्षण हुनुपर्ने  स्थानीय धनबहादुर पालले बताए । ‘उक्त क्षेत्र ओझेलमा पर्नुका कारण प्रचार-प्रसार नहुनु पनि हो’, पालले भने, ‘ऐतिहासिक उकु महलको संरक्षणमा समेत ध्यान कसैको पुगेको छैन् ।’

    उनका अनुसार गाउँपालिकाले विगतका वर्षमा संरक्षण एवम् सम्वर्द्धनमा पहल गरे पनि अहिले पनि वास्ता गरिएको छैन । ओझेलमा परेको उकु भग्नावशेषको विशेष उत्खनन् एवम् संरक्षण गर्ने नीति ल्याउने गाउँपालिका उपाध्यक्ष कल्यानसिंह धामीले बताए ।

    उनले सांस्कृतिक तथा धार्मिक पर्यटकीय सम्भावना भएको उकु महलको थप अन्वेषण र संरक्षणका लागि पहल भइरहेको जानकारी दिए ।

    पुरातत्व विभागसँग उकु भग्नावशेषको मात्रै नभई मालिकार्जुन गाउपालिका-३ मा रहेको राष्ट्रिय धाम मालिकार्जुन मन्दिर, चौड मन्दिर, शिखर धाम तथा गाउँपालिकाभित्र रहेका विभिन्न पर्यटकीय स्थलको संरक्षण र प्रचारप्रसार कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको उपाध्यक्ष धामीको भनाइ छ ।

    उकु महलको भग्नावशेष स्थलमा विभिन्न शिलालेख लेखिएका चट्टान छरिएर रहेका अवस्थामा जीर्ण बन्दै गएका छन् । परापूर्वकालमा कत्युरी राजाको राजधानीकारूपमा यसलाई निर्माण सुरु गरिएको किंवदन्ती छ ।

    कतुडी राजवंशको अन्त्यपश्चात् १२औं शताब्दीमा पाल राजा भारतको अस्कोट क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको हुन सक्ने जानकारको भनाइ छ ।

    हालसम्म पनि उकुलाली क्षेत्र र उकुसँग सीमा जोडिएको भारतको अस्कोटमा पनि पालको बसोबास रहँदै आएको छ । इतिहासबारे जानकार मालिकार्जुन-३ का ८० वर्षीय सोबे धामीले उकु भग्नावशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेख जम्मा गरेको बताइन्छ ।

    अहिले सो क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, शिलालेख हेर्दा दरबारभित्रको मन्दिर बनाउन जम्मा गरिएको हुन सक्ने उनको भनाइ छ । उक्त क्षेत्रमा ऐतिहासिक किल्ला, ढुंगामा कुँदिएका विभिन्न भगवान्का मूर्ति देख्न सकिन्छ ।

    अस्कोटको इतिहासअनुसार परापूर्वकालमा अभयपाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका इतिहास छ । अभयपालले वरपरका विभिन्न ८० कोटको एकीकरण गरेर ‘अस्कोट’ नामकरण गरेको इतिहासमा भेटिन्छ ।

    २०७४ यता पर्यटन पूर्वाधारअन्तर्गत उकु भग्नाशेषको संरक्षण सुरु गरिएको भए पनि त्यसपछि संरक्षण सम्वर्द्धनमा निकायले चासो नदेखिएको स्थानीयको गुनासो छ । भग्नावशेष वरिपरि विगत दुई वर्ष पहिला काँडेतार लगाएर केही संरक्षण प्रयास गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij