Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नियमित शल्यक्रिया सेवाले जिल्लावासीलाई राहत

नियमित शल्यक्रिया सेवाले जिल्लावासीलाई राहत

  • 342
    SHARES
  • नियमित शल्यक्रिया सेवाले जिल्लावासीलाई राहत

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले नियमितरूपमा शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई राहत भएको छ ।

    उक्त केन्द्रले साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि बाहिरी जिल्ला जानुपर्ने बाध्यता अन्त्य भएको हो । उपचार केन्द्रमा बिहीबारमात्रै पित्तथैलीमा पत्थरीको सफल शल्यक्रिया गरिएको थियो ।

    शुक्लागण्डकी नगरपालिका-७ निवासी ६१ वर्षीया कुमारी गाहा मगरको पित्तथैलीमा पत्थरीको उक्त उपचार केन्द्रमा गरिएको शल्यक्रिया सफल भएको हो । जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको उनले बताइन् ।

    ‘बाहिर उपचार गर्न जाँदा खर्च बढी हुन्थ्यो, आफ्नो घर नजिकैको अस्पतालमा शल्यक्रिया सेवा पाउँदा सहज भयो,’ उनले भनिन् ।

    उक्त केन्द्र नियमितरूपमा शल्यक्रिया सेवा सञ्चालन भएपछि सामान्य शल्यक्रियाका लागि पनि पोखरा, भरतपुरलगायत ठूला शहरमा जानुपर्ने बाध्यता अन्त्य भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिए ।

    केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नीलगायतमा शल्यक्रिया सेवा दिइरहेको उनले बताए । ‘यहाँ नियमितरूपमा सञ्चालन भएको शल्यक्रिया सेवा तनहुँलगायत आसपासका जिल्लावासीलाई सहज भएको छ,’ डा. श्रेष्ठले भने ।

    केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा.विद्याभुषण ताम्राकार, सर्जन डा.परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा.रमेश घिमिरे, डा.अभिषेक पौडेललगायत छन् । केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई पनि राहात भएको छ ।

    केन्द्रमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । उक्त केन्द्रले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गर्नाका साथै केही समय अगाडिदेखि कल्चर सेवा पनि शुरु गरेको छ ।

    बिहान १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायत सेवा पनि उक्त केन्द्रबाट सञ्चालन भइरहेको छ ।

    पचास शैय्याको उक्त केन्द्रमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेट सम्बन्धी र हाडजोर्नीका बिरामीहरु नियमित आउने गरेका छन् ।

    दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रकोरूपमा स्थापना गर्न सरकारले केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

    सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।

    उक्त केन्द्रमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

    सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत् उपचार केन्द्रमा पूर्वाधार निर्माणका लागि सहयोग गर्ने घोषणा गरेको थियो । केन्द्रमा अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन भइरहेको छ ।

    दुई करोड १८ लाखको लागतमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij