Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

हस्तकलाजन्य प्रदर्शनीमा पर्यटकको आकर्षण बढ्दो

हस्तकलाजन्य प्रदर्शनीमा पर्यटकको आकर्षण बढ्दो

  • 275
    SHARES
  • हस्तकलाजन्य प्रदर्शनीमा पर्यटकको आकर्षण बढ्दो

    काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा वसन्तपुर तथा त्यस आसपास क्षेत्रमा हस्तकला कपडा, झोला, गरगहना, धातु तथा माटाका सामग्रीले डबली क्षेत्र शोभायमान देखिएको छ ।

    images

    काठमाडौं महानगरपालिका, हनुमानढोका दरबार क्षेत्र पर्यटन प्रवर्द्धन संघको आयोजनामा आज आयोजित एक दिवसीय हस्तकला प्रदर्शनीले त्यस क्षेत्रमा पर्यटकको थप आकर्षण बढेको हो ।

    नेपाल हस्तकला महासंघ आवद्ध संघ, संस्था, उद्यमीको सहभागिता रहेको कार्यक्रमको काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले परम्परागत कला, संस्कृतिका साथै मौलिक हस्तकला उत्पादनमा पनि नेपाल अग्रस्थानमा रहेको बताइन् ।

    स्वदेशी उत्पादनलाई विश्व बजारमा फैलाउन गुणस्तरीय वस्तु उत्पादन र प्रवर्द्धनको खाँचो रहेको उनको भनाइ छ । धातुकला, पश्मिना, काष्ठकला, पेपर क्राफ्टलगायतका स्वदेशी उत्पादन भारत, चीन, संयुक्त राज्य अमेरिका, युरोप, जापान, क्यानडालगायत मुलुकमा माग भइरहेका छन् ।

    विदेशीको रोजाइँमा पनि हस्तकला तथा तानजन्य सामग्री परेका छन् । मुलुकमा देखा परेको व्यापार घाटा न्यूनीकरणका लागि नेपाली हस्तकला क्षेत्रले केही योगदान गरेको छ । धातुजन्य वस्तुका मूर्तिलगायत अन्य सामान कालीगढले हातले कुदेर बनाइरहेका छन् ।

    ललितपुरका माणिकमान शाक्यले धातुका पातालाईभित्र बाहिर दुबै तर्फबाट च्यापेर कलाकृति बनाइरहेको दृश्यले प्रदर्शनी हेर्न आउने जो कोहीलाई पनि मनोरञ्जनयुक्त बनाएको छ । प्राचीनकालदेखि नै प्रयोगमा रहेको यस्तो कला कौशल सिपालु र अनुभवी कालीगढले मात्र पूरा गर्न सक्छन् ।

    लिच्छिवीकालीन समयदेखि धार्मिक एवम् सांस्कृतिक क्षेत्रमा यस्तो कलाको प्रयोग सुरुआत भएको शाक्यले बताए । उनले प्रविधिको विकासक्रमसँगै साँचोमा राखेर धेरै वस्तु उत्पादन हुन थालेको विशुद्व हातले बनाउने यो कला निर्माण जटिल बन्दै गएकामा चिन्ता व्यक्ति गरे ।

    सरकारले हस्तकलाको विकासका लागि कुनै नीति ल्याउन नसकेको अहिलेको अवस्थामा स्थानीय तहले उद्यमीलाई कच्चापदार्थ लगायतका विषयमा छुट दिने तथा उत्पादनमा न्यून कर लगाउनुपर्ने उनको भनाइ छ ।

    प्रदर्शनीमा माटाका सामग्री बनाउन विदेशीले पनि सिकिरहेका छन् । यसको प्रवर्द्धनका लागि सम्बन्धित पक्षलाई आवश्यक सहुलितको नीतिगत व्यवस्था हुनुपर्ने व्यवसायीको माग छ । हस्तकला नीति बनाउँदा व्यवसाय प्रवर्द्धन र उत्पादित सामग्री प्रचार, बजारीकरणमा ध्यान दिनुपर्ने मेलाका संयोजक डिल्लीरत्न तुलाधरले बताए ।

    यस क्षेत्रले घरपरिवारको आयआर्जनमा सहयोग पुग्ने र देशको अर्थतन्त्रलाई पनि बलियो बनाउने भए पनि मुलुकभित्र साधनस्रोतको अभाव रहेको तुलाधरको भनाइ छ ।

    नेपाल हस्तकला महासंघले देश तथा विदेशमासमेत हस्तकला व्यापार मेला गरेर केही प्रचार गरिरहेको छ । व्यवसायका लागि आवश्यक पर्ने दक्षजनशक्ति पनि न्यून रहेकाले उनीहरूलाई तालिमलगायत उत्प्रेणाको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

    यस क्षेत्रले करिब १० लाख मानिसलाई रोजगारी दिइरहेको र वस्तु निर्यात गरी वैदेशिक मुद्रा सञ्चित गरेको जनाइएको छ । स्वदेशमा हस्तकलाको माग करिब  १० अर्ब बराबरको छ । करिब १५ अर्बको निर्यात हुने गरेको छ ।

    हस्तकला नेपाललाई विश्व परिवेशमा विशिष्ट पहिचान गराउने क्षेत्र हो । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान यस क्षेत्रको छ । ग्रामीण भेग तथा बेरोजगार युवालाई सीप सिकाएर उत्पादन वृद्धि गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ ।

    विभिन्न जातजाति तथा समुदायले सजिएको मुलुकमा उनीहरूको जातीय मौलिक हस्तकला छन् । तिनीहरूको सीप प्रवर्द्धन पनि उत्तीकै जरूरी छ । बैंक तथा वित्तीय संस्थाले यस्ता उद्योगको स्थापना तथा विकासका लागि कर्जा प्रवाह गर्नुपर्ने तुलाधरको सुझाव छ ।

    हस्तकलाको विकास र विस्तार गर्न सकेमा गरिबी निवारणमा पनि सहयोग पुग्ने र समृद्धिका सम्भावना वृद्धि हुने व्यवसायीको भनाइ छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology