Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पर्यटकीय स्थल बन्दै ऐनापहरा झरना

पर्यटकीय स्थल बन्दै ऐनापहरा झरना

  • 441
    SHARES
  • पर्यटकीय स्थल बन्दै ऐनापहरा झरना

    तनहुँ । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा एउटा मनमोहक झरना छ । हरियाली जंगल खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरू आनन्दित भएर फर्किन्छन् ।

    images

    आँबुखैरेनी गाउँपालिका-२ र ४ को सिमानामा रहेको ऐनापहरा झरना पर्यटकको आकर्षक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको हो ।

    राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलका रूपमा पनि ऐनापहरा झरना विकास भइरहेको आँबुखैरेनी गाउँपालिका-३ का वडा सदस्य मनोजकुमार श्रेष्ठले जानकारी दिए ।

    ‘काठमाडौं, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारणहरू सवारी साधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन्’, उनले भने, ‘यात्राका क्रममा हुने थकान मेटाउने गन्तव्य बनेको छ भन्दा पनि हुन्छ ।’

    यसका अलवा जिल्लाभित्रकै आन्तरिक पर्यटक पनि ऐनापहरा झरनामा आउने गरेका छन् । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक विस्तारका लागि यतिबेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ ।

    जसले गर्दा राजमार्गको यात्रा सकसपूर्ण छ । त्यसमाथि धुवाँधुलोले गर्दा सर्वसाधारणलाई समस्या भइरहेको छ । धुवाँधुलो र कष्टपूर्ण यात्राको थकान मेट्नका लागि ऐनापहरा झरना उपयुक्त माध्यम बनिरहेको बताइन्छ ।

    म्याग्दे गाउँपालिका-७ हर्षपुरका मोहन बरालीले राजमार्गका क्रममा यात्रा गर्दा ऐनापहरा झरनामा पुगेर आराम गर्दा आनन्द आउने बताए । ‘एकछिन भने पनि थकाइ मार्न आनन्द लाग्ने ठाउँ छ, राजमार्गबाटै नजिक भएकाले पनि यस ठाउँ गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ,’ उनले भने ।

    पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएपछि आँबुखैरेनी गाउँपालिकाले यहाँ पूर्वाधार थप गर्ने लक्ष्य लिएको छ । ऐनापहरामा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ४० लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    यहाँ स्काई साइक्लिकिङ, सिसाको पुल बनाउने योजना बनाइएको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसममा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड बढ्न थालेको छ ।

    झरनामा दैनिक तीन सयदेखि चार सय सर्वसाधारण झरनामा पुग्ने गरेका छन् । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ ।

    ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआर अनुसार  १० करोड बजेट आवश्यक पर्छ ।

    डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङ लगायतका संरचना निर्माण गर्ने उल्लेख छ । पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भएको यस ठाउँमा केही दिनअगाडि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको संयुक्त टोलीले सरसफाई गरेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology