वेबटिभी खबर
काठमाडौं । ‘गल्छी-रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका-७ लामासोतीमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध भएको छ ।
नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए ।
चारपाङ्ग्रे सवारीसाधन आउजाउ गराउन वैकल्पिक सडक नहुँदा काठमाडौं पुगेर टोखा छहरेको सडक हुँदै आउन उनले आग्रह गरे ।
‘गल्छी-देवीघाट सडकखण्ड’ अन्तर्गत पर्ने बुधसिंहघाटस्थित लामासोतीमा गत वर्ष ठूलोभिर काटेर ‘गल्छी-रसुवागढी सडक योजना’ अन्तर्गतको दायाँबायाँ ११ मिटर सडक निर्माण गरिएको थियो ।
उक्त स्थानमा करिब पाँच सय मिटरमाथिबाट खसेको सुक्खा पहिराले दुई सय मिटर सडक पूर्णरूपमा अवरूद्ध बनाएको छ । सडक खुलाउन ‘गल्छी-रसुवागढी सडक योजना’को कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन् ।
ठूलो भिरमा माथिबाट थप ढुंगासहितको माटो खसिरहेकाले सडक खुलाउन चुनौतीपूर्ण बनेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी योजना’ कार्यालयका सूचना अधिकारी सन्तराम पाण्डेले जानकारी दिए ।
पहिरो गएको स्थानमा नुवाकोबाट धादिङ लगिएको विद्युतीय प्रसारण लाइन र केही खम्बामा समेत क्षति पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij