वेबटिभी खबर
काठमाडौं । आसन्न आम निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधिसभा क्षेत्र नम्बर-१ अन्तर्गत पनौतीमा र प्रतिनिधिसभा क्षेत्र नम्बर-२ अन्तर्गत धुलिखेलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले शनिबार निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा क्षेत्र नम्बर-२ र त्यसअन्तर्गतका २ प्रदेशमा निर्वाचनका कामसमेत गर्ने जनाइएको छ ।
निर्वाचन आयोगले भने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न असोज २१ गतेको कार्यतालिका बनाएको थियो । आयोगका अनुसार असोज २३ गते प्रतिनिधिसभा तथा प्रदशसभा क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ भने असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार जिल्लाका १ लाख ५७ हजार ९४७ पुरूष, १ लाख ५२ हजार ११४ महिला र अन्य २ मतदाता गरि कुल ३ लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन् ।
१९० वटा मतदानस्थलका ३८९ मतदान केन्द्र तोकिएको छ । काभ्रेपलाञ्चोकमा २ प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा कुल मतदाता १५२ हजार ६९९ रहेका छन् ।
यहाँ १९५ वटा मतदान केन्द्रबाट मतदान हुनेछ । सोही क्षेत्रको प्रदेशसभा (क) मा ४० हजार १०१ पुरूष तथा ३६ हजार ४५२ महिला गरि ७६ हजार ५५३ मतदाता रहेका छन् ।
जसमा ९४ वटा मतदान केन्द्र रहेका छन् । प्रदेशसभा (ख) मा भने ३८ हजार ७१५ पुरूष र ३७ हजार ४३० महिला गरि ७६ हजार १४६ मतदाता छन् । यहाँ ९५ वटा मतदान केन्द्र छन् ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा ७९ हजार १७४ पुरूष र ७८ हजार २६७ महिला गरि एक लाख ५७ हजार ४४२ मतदाता रहेका छन् ।
उक्त क्षेत्रमा २०० मतदान केन्द्र रहेका छन् । सोही क्षेत्रको प्रदेशसभा (क) मा ३९ हजार २५८ पुरूष, ३७ हजार ८५० महिला तथा अन्य एक गरि ७७ हजार १०९ मतदाता रहेका छन् ।
प्रदेशसभा (ख) मा भने ३९ हजार नौ सय १६ पुरूष तथा ४० हजार ४१७ महिला गरि ८० हजार ३३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij