वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमा नै फाेहाेरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण महानगरकाे उक्त याेजना अझै कार्यान्वयन हुन सकेको छैन ।
फाेहाेर व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने भन्दै कामपाले गत साउन १ गतेदेखि स्रोतमै कुहिने र नकुहिने फाेहाेर वर्गीकरण गर्न नगरवासीलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो ।
जुनसुकै बार पनि नागरिकले सबै किसिमको फाेहाेर एकै ठाँउमा राखेर महानगरको गाडीसम्म लाने गरेका कारण महानगरकाे उक्त याेजना कार्यान्वयनमा आउन नसकेको हो । फाेहाेरको दीर्घ व्यवस्थापन गर्ने वञ्चरेडाँडामा पनि कुहिने र नकुहिने फाेहाेर व्यवस्थापनमा अलमल देखिएको छ ।
महानगरपालिकाले फाेहाेर नछुट्याएर ५०० रूपैयाँ जरिवाना गर्ने भनी सूचना जारी गरेको थियो । वि.सं २०६८ मा सरकारले जारी गरेको फाेहाेरमैला व्यवस्थापन ऐन र वि.स २०७७ मा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन बमोजिम शहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ ।
ऐनमा फाेहाेरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले घरमै जैविक र अजैविक फाेहाेरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।
विकसित मुलुकले सहरबाट निस्कने फाेहाेरलाई व्यवस्थित रूपमा विसर्जन गरि आन्दानीको स्रोतका रूपमा उपयोग गरिरहेका छन् तर काठमाडौंको फाेहाेर व्यवस्थापनको विकराल समस्याले मुलुकलाई नै गिज्याइरहेको छ ।
विज्ञका अनुसार फाेहाेरलाई प्रारम्भमै वर्गीकरणका साथै उत्पादनमा समेत कमी ल्याउने, प्लाष्टिकको विकल्पमा जुटको झोलाको प्रयोग बढाउने, शून्य फाेहाेर (जिरो वेस्ट) अवधारणा प्रवर्द्धन गर्ने र आधुनिक प्रविधि प्रयोग गर्नसके उपत्यकाभित्रको फाेहाेर व्यवस्थापनका एकै किसिमका आधुनिक विधि अपनाउनु जरुरी छ ।
कामपाको कूल ३२ वडामध्ये भित्री ९ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फाेहाेर व्यवस्थापन हुँदै आएको छ । फाेहाेर वर्गीकरण योजना भने ३२ वटै वडामा लागू गरिएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिकटन फाेहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फाेहाेर जान्छ । नजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरि दैनिक कम्तीमा २०० गाडीले फाेहाेर ओसार्छन् । जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर वि.सं २०६२ मा काठमाडौं उपत्यकाको फाेहाेर नुवाकोटको ककनी गाउँपालिका-२ सिसडोलमा फाल्न सुरु गरिएको थियो ।
स्थान पहिचानको काम जारी
कामपाले कुहिने फाेहाेर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम जारी रहेको जनाएको छ ।
सबै किसिमका फाेहाेर बञ्चरेडाँडा पुर्याउँदा पटकपटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फाेहाेरको दीर्घ समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ ।
बञ्चरेडाँडामा हानिकारक फाेहाेर व्यवस्थापन नगर्ने योजनाअनुरूप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो । त्यसका लागि उपत्यकामा तीन स्थानमा पहिचान गरिएको छ । बीचमा केही अवरोध नआए आगामी मंसिरदेखि उक्त स्थानमा कुहिने फाेहाेर व्यवस्थापनको कामको थालनी हुने महानगरले जनाएकाे छ ।
महानगरका अनुसार त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयवासीसँग छलफल भइरहेको छ । फाेहाेर व्यवस्थापनको काम भएकाले स्थानीयवासीलाई त्यस विषयमा बुझाउन भने कठिन भएको कामपाको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij