वेबटिभी खबर
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन । लामो समयदेखि बन्द रहेको हवाई सेवा दसैँमा पुनःसञ्चालन हुने भनिएको थियो । तर दसैँमा पनि सञ्चालनमा आएको छैन ।
समिट एयरले साप्ताहिकरूपमा उडान गर्दै आएकामा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई उडान सेवा बन्द छ । कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको उडान सेवा बन्द भएको करिब ६ महिना पुगेको छ ।
यसअघि दसैँलाई लक्षित गर्दै यही असोज ८ गते शनिबारदेखि नियमितरूपमा हवाई उडान हुने जनाइएको थियो । माथिबाटै दसैँमा यात्रु हुन्छन् भनेर असोज ८ देखि उडान भर्ने भनेर जानकारी आएको भए पनि यात्रु समस्याका कारण उडान हुन नसकेको समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिए ।
साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । उनले भने, ‘दसैँ, तिहारका बेला यात्रु नियमितरुपमा पाइन्छन् भनेर असोज ८ गतेदेखि फ्लाइट हुने जानकारी आएको थियो तर यात्रु अभावमा उडान हुन सकेन ।’
यसअघि बिहीबार हुँदै आएको हवाई उडान असोज ८ गतेदेखि हरेक शनिबार साप्ताहिकरूपमा धनगढी–बैतडी–धनगढी उडान हुने समिट एयरले जनाएको थियो । दसैँमा समेत यात्रु अभाव भएपछि अब भने यहाँ कहिले उडान हुने भन्नेबारे अनिश्चित भएको छ ।
उनले भने, ‘चाडपर्वका बेला यात्रु हुन्छन् र नियमित उडान गर्ने तयारी थियो तर अब यसपछि कहिलेदेखि उडान हुने भन्नेबारेसमेत अनिश्चित भएको छ ।’
यात्रु नपाइनुको मुख्य कारण महंगो भाडा दर
बैतडीमा हवाई उडान नहुनुको मुख्य कारण यात्रु नपाइने भनेर भन्ने गरिएको छ तर यात्रुको गुनासो भने भाडा महंगो भन्ने छ । १७ मिनेटमै पुगिने यात्रामा भाडा भने महंगो भएको स्थानीय भागरथी भट्टले बताइन् ।
उनले भनिन्, ‘१७ मिनेटको यात्राका लागि पाँच हजार तिर्नु निकै महंगो हो, भाडादर घटाएपछि नियमितरूपमा यात्रु पनि पाइन्थे, यात्रुलाई पनि सहज हुन्थ्यो ।’
१७ मिनेटको बैतडी–धनगढी हवाई भाडा अबदेखि पाँच हजार रूपैयाँ निर्धारण गरिएको छ । सुरुमा हवाई सेवा सञ्चालन हुँदा ३ हजार ८५० भाडा रहेकामा त्यसपछि बढेर ४ हजार ६०० रूपैयाँ पुगेको थियो ।
हाल अझै बढेर पाँच हजार पुगेको भट्टले बताए । उनले भने, ‘इन्धनको मूल्य बढेकाले हवाई भाडा पनि बढेर आएको हो । हाल ५ हजार रूपैयाँ निर्धारण गरिएको छ । घट्ने सम्भावना छैन ।’
हवाई उडान नियमित नहुँदा आकस्मिकरुपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जान समस्या हुने गरेको छ । सार्वजनिक यातायातमा धनगढी पुग्न कम्तीमा ८ घण्टा लाग्ने गर्छ ।
पाटनमा विमानस्थल २६ वर्षपछि वि.सं २०७७ असोज अन्तिम सातादेखि पुनःसञ्चालनमा आएको हो । वि.सं २०३२ मा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर वि.सं २०३५ देखि हवाई सेवा सुरु भएको थियो ।
पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij