Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मूर्ति बनाएर जीविकोपार्जन

मूर्ति बनाएर जीविकोपार्जन

  • 358
    SHARES
  • मूर्ति बनाएर जीविकोपार्जन

    काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका-३ का प्रेम टमटाले भगवानको मूर्ति बनाएर जीविका चलाएको दुई दशकभन्दा बढी भयो । सानै उमेरमा घरबाट भागेर कामको खोजीमा भारतको राजधानी दिल्ली पुगेका उनले दिल्लीस्थित जैपुरमा भगवानको मूर्ति बनाउने कारखानामा काम गरेको थिए ।

    उक्त कारखानामा करिब १० वर्ष काम गरेका उनले त्यहाँ मूर्ति बनाउने सीप सिके र नेपाल फर्किए । उनले भने, ‘दश वर्ष मूर्ति कारखानामा काम गर्दा मेलै पनि मूर्ति बनाउन सिकिसकेको थिँए । काम सुरु गर्दादेखि नै मूर्ति बनाउने रहर थियो विस्तारै सिक्दै गएँ ।’

    भारतबाट सीप सिकेर नेपाल फर्किएका उनले हाल घरमै भगवानका मूर्ति बनाउँछन् । तामा, पित्तल, ढुङगा, काठ र सिमेन्टबाट निर्मित विभिन्न भगवानका मूर्ति बनाउने गरेको उनले बताए ।

    उनले भने, ‘करिब २० वर्ष भयो, मूर्ति बनाएर परिवारको जोहो गरेको छु । अहिले मूर्तिको माग धेरै बढेको छ । दार्चुला बैतडिदेखि काठमाडौंसम्मबाट मूर्ति बनाउनका लागि आउँछन् ।’

    उनले शिव पार्वती, हनुमान, दुर्गा, हात्ती र बाघ जस्ता विभिन्न भगवान र जीवजन्तुका मूर्ति बनाउने गरेको बताए । आफूले बनाएका मूर्ति नेपालको विभिन्न धार्मिकस्थलमा राखिएको टमटाले बताए ।

    कैलालीको गोदावरीस्थित ६० फिट लामो हुनमानको मूर्ति करिब ९ महिना लागएर बनाएको उनले बताए । उनले भने, ‘प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा राखिएको हनुमानको मूर्ति मैले बनाएको हुँ । ९ महिना लगाएर बनाएको मूर्तिको चार लाख पारिश्रमिक लिएकाे थिए ।’

    गोदावरीधाम बाहेक कञ्चनपुरको पर्यटकीयस्थल शिवलिंगेश्वर धामस्थलमा समेत आफूले बनाएका मूर्ति स्थापित रहेको उनले बताए । विशेष गरि चाडपर्वको बेला मूर्ति बनाउने चापबढी हुने गरेको उनले बताए ।

    उनले भने, ‘देवीदेवताको मन्दिरमा चढाउन चाडपर्वको बेला बढी माग हुन्छ । मूर्ति बनाएरै अहिलेसम्म परिवार चलेको छ ।’ नेपालमै मूर्ति बनाउने कारखाना खोल्ने ईच्छा भएपनि आर्थिक अभावका कारण त्यो सपना पूरा हुन नसकेको टमटाले बताए ।

    उनले भने, ‘यही कारखाना स्थापना गर्नसके यहाँ अन्य धेरैले रोजगारी पनि पाउँथे सीप पनि हस्तान्तरण हुने थियो । आर्थिक समस्याका कारण कारखाना स्थापना गर्न सकेको छैन ।’

    उनले अहिले पनि मूर्ति बनाउनका लागि भारतबाट मूर्तिकार आउने गरेको बताए । अझै पनि मूर्ति बनाउन भारत जानुपर्ने र त्यहाँको मूर्तिकार ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

    उनले भने, ‘मैले सिकेको सीप अरूलाई पनि सिकाउन सक्थे यसले हाम्रो देशमै मूर्तिकार भएपछि यही रोजगारी पनि हुन्थ्यो ।’ उनले अहिले सीप नभएर थुप्रै युवा रोजगारीका लागि भारत जाने गरेको बताए ।

    अहिले मूर्ति बनाएर साइज हेरेर २० हजार देखि चार/पाँच लाखसम्म पारिश्रमिक लिने गरेको टमटाले बताए । उनले भने, ‘ग्राहकलाई चाहिए अनुसारको मूर्ति बनाउन सक्छु । काठ, ढुंगा, सिमेन्ट पित्तल तामाका मूर्ति सहजै बनाउन सक्छु ।’

  • सम्बन्धित विषय:

  • # मूर्ति

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij