वेबटिभी खबर
स्याङ्जा । वर्षासँगै पहिरो खस्दा पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले जानकारी दिए ।
घर मुनीबाट पहिरो खसेपछि तत्काल त्यहाँ बस्दै आएका परिवारहरूलाई छिमेकीको सारिएको उनले बताए । पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो गएको ठाउँमा त्रिपाल र प्लास्टिकले छोपिएको छ । प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ती घरहरू जोखिममा परेका हुन् ।
अहिले पानी परिरहेकाले जोखिममा रहेका घरमा बस्दै आएकाहरूलाई छिमेकीको घरमा राखिएको नगर प्रमुख कृष्ण खाणले बताए । मानवीय क्षति नहोस् भनेर त्यहाँ बस्दै आएका पाँच परिवारलाई छिमेकीको घरमा सारिएको छ ।
पानी रोकिएपछि प्राविधिक तथा विपद् ब्यवस्थापनको टोलीले निरीक्षण गरी बस्न हुने/नहुने बुझेर सोही अनुसारको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।
नगरपालिकाले प्रदेश र केन्द्रीय सरकारसँग राहत तथा सहयोगका लागि पहल गर्ने नगरप्रमुख खाणले बताए । मंगलबार रातिदेखि परेको अविरल वर्षाकाकारण यहाँको जनजीवन कष्टकर बनेको छ । सांकेतिक तस्बिर ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij