Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

डेंगु आतंक : के गर्दैछन् काठमाडौंका स्थानीय तह ?

डेंगु आतंक : के गर्दैछन् काठमाडौंका स्थानीय तह ?

  • 467
    SHARES
  • डेंगु आतंक : के गर्दैछन् काठमाडौंका स्थानीय तह ?

    काठमाडौं । काठमाडौं उपत्यका यसपटक डेंगु संक्रमणबाट सबैभन्दा बढी प्रभावित बन्यो । डेंगु बढ्दै जाँदा पनि रोकथामका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तह सुरुमा उदासिन देखिए । तर यसको संक्रमणले संघीय राजधानी नै बढी प्रभावित भएपछि जनस्तरबाट व्यापक आलोचना सुरु भएसँगै केन्द्र र स्थानीय सरकारले नियन्त्रणका लागि चासो देखाउन थालेका छन् ।

    सरकारीस्तरबाट समयमै नियन्त्रणका उपाय नअपनाउँदा वर्षको सबैभन्दा ठूलो चाड दसैँ नै मनाउन पाएनन् । डेंगुका बिरामी भएको घरमा दसैँको उत्साहपूर्ण हुन सकेन् । रोकथामका लागि के गर्दैछ काठमाडौंको गोकर्णेश्वर नगरपालिका ?

    काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिकाले डेंगु संक्रमण बढ्दै गएपछि रोकथामका लागि विभिन्न उपायहरू अपनाउन थालेको छ । नगरपालिकाले डेंगु संक्रमण कसरी फैलन्छ र त्यसबाट कसरी बच्ने भन्ने जनचेतना टोल–टोलमा पुर्‍याएको छ ।

    नगरवासीलाई डेंगु संक्रमणबाट जोगाउन विद्यालय, अस्पताल र सबै वडाहरूमा पुगेर संक्रमणबाट कसरी बच्ने र त्यसका उपायहरूको बारेमा जानकारी दिइएको नगरप्रमुख दिपककुमार रिसालले बताए ।

    डेंगु संक्रमणको औषधि नभएकाले जनचेतनामूलक कार्यक्रम गर्नुको विकल्प नभएको उनको भनाइ छ । नगरपालिकामा दैनिक ५ देखि ७ जनामा डेंगु संक्रमण देखिएको रिसाल बताउँछन् ।

    डेंगु संक्रमण फैलाउने र अन्य लामखुट्टे फोहोरका कारण आउने भएकाले फोहोर व्यवस्थापन र लामो समयदेखि पानी जमेका खाल्डाहरू पुर्ने लगायतका कामहरू नगरपालिकाले गरिरहेको छ । साथै डेंगु संक्रमण फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने काममा पनि नगरपालिका लागि रहेको रिसालले जानकारी दिए ।

    गोकर्णेश्वरको नगर अस्पतालमा परीक्षण गरेका मात्र साढे तीन सयभन्दा बढीमा डेंगु देखिएको छ । नगर अस्पताल बाहिर परीक्षण गर्नेको तथ्याकं भने नगरपालिकासँग छैन ।

    एक्कासी आइपर्ने यस्ता विभिन्न रोग तथा अन्य प्रकोपलाई ध्यानमा राखेर नगरपालिकाले करिब २ करोड रूपैयाँ आपत्तकालीन बजेट छु्ट्याए पनि डेंगुको कुनै औषधि तथा उपचार नभएकाले बजेट खर्च गर्न नसकिएको नगर प्रमुख रिसालले बताए ।

    ४५० रूपैयाँमा डेंगु परीक्षण, जेष्ठ नागरिक र विपन्नलाई निःशुल्क

    नगरपालिकाले ४५० रूपैयाँमा नगर अस्पतालमा डेंगु परीक्षण गर्ने व्यवस्था मिलाएको छ । डेंगु परीक्षणको नाममा विभिन्न निजी स्वास्थ्य संस्था तथा अस्पतालहरूले बिरामीबाट बढी शुल्क उठान थालेपछि नगरपालिकाले डेंगु परीक्षण गर्ने किट किनेर उक्त सुविधा उपलब्ध गराएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि उपाध्यायले बताए ।

    उनका अनुसार जेष्ठ नागरिक र विपन्न परिवारका सदस्यलाई भने डेंगु परीक्षण निःशुल्क गरिएको छ । उनले भने, ‘नगर अस्पतालमा ४५० रूपैयाँमा डेंगु परीक्षण गर्न सक्ने व्यवस्था मिलाएका छौँ । जेष्ठ नागरिक र विपन्न परिवारका सदस्य जसले उक्त शुल्क तिर्न सक्दैनन् उनीहरूको भने निःशुल्क परीक्षणको व्यवस्था छ ।’

    उनका अनुसार नगरपालिकाले डेंगु संक्रमण नियन्त्रणको लागि सबै वडाका स्वास्थ्य शाखा र स्वास्थ्यका चौकीका प्रमुखलाई वडा प्रमुखसहित जनचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । यस नगरपालिकामा ९ वटा वडा र १० वटा स्वास्थ्य चौकी रहेका छन् ।

    जनचेतना कार्यक्रम सञ्चालनका लागि वडा कार्यालय, स्वास्थ्य चौकी र नगरपालिका कार्यालयलाई डेंगु नियन्त्रणको उपाय लिखित ब्यानर र पम्प्लेट उपलब्ध गराइएको उनको भनाइ छ ।

    संघ तथा प्रदेश सरकारले डेंगु परीक्षणका लागि आवश्यक किट उपलब्ध नगराउँदा समस्या भएको उनले बताए ।
    नेपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए । त्यसपछि डेंगुका बिरामी नेपालमा बर्सेनि देखिदै आएका छन् ।

    मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगुका बिरामी बाग्मती प्रदेशमा देखिएका छन् । हालसम्म डेंगु संक्रमणबाट निधन हुनेको संख्या ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # डेंगु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij