Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

सन्दर्भः विश्व नर्स दिवस

फ्रन्टलाइनर नर्स भन्छन्- बिरामीकाे आशिर्वाद नै काम गर्ने ऊर्जा

फ्रन्टलाइनर नर्स भन्छन्- बिरामीकाे आशिर्वाद नै काम गर्ने ऊर्जा

  • 2.1K
    SHARES
  • फ्रन्टलाइनर नर्स  भन्छन्- बिरामीकाे आशिर्वाद नै काम गर्ने ऊर्जा

    काठमाडौं । आज मे १२ तारिख अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा यो दिन विश्वभर नर्स दिवस मनाउने गरिन्छ । आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर नर्स दिवस मनाउने गरिएको हो ।

    images

    हाल कोरोनाको विश्वव्यापी महामारीको बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेसालाई सम्मानित पेसाका रुपमा लिने गरिएको छ ।

    नेपालमा पनि कोरोना महामारी प्रवेश गर्नपूर्व यस दिवसलाई विभिन्न कार्यक्रम गरि मनाइन्थ्यो । नर्सिङ पेसामा आबद्ध सबैले प्रत्यक्ष रुपमा एकअर्कालाई शुभकामना व्यक्त गर्थे । तर अहिले समय परिवर्तन भएको छ । पछिल्ला दिनहरु स्वास्थ्यकर्मीका लागि जटिल बन्दै गइरहेका छन् ।

    अस्पतालहरुमा कोरोना संक्रमितको चाप बढेसँगै स्वास्थ्यकर्मीहरु पनि दिनरात नभनी बिरामीको सेवामा तल्लिन देखिन्छन् । बिरामीको उपचारमा डाक्टरले जति भूमिका निभाउनुपर्छ त्यो भन्दा बढी नर्सले पनि खटिनु परेको हुन्छ । नर्स भनेका अस्पतालका सिपाही हुन् । जो निरन्तर लडिरहेका हुन्छन् । उनीहरुले गर्ने दिन-रातको सेवाले बिरामीलाई चाँडै निको हुने हौसला र प्रेरणा मिल्छ । 

    नर्सिङ दिवसमा राष्ट्रपतिले गरिन् नर्सहरूको प्रशंसा 

    अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना दिदैं राष्ट्रपति विद्यादेवी भण्डारीले नर्सहरुको प्रशंसा गरिन् । राष्ट्रपति भण्डारीले आफ्नो ट्वीटरमार्फत अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना दिएकी छिन् । उनले अहिलेको विश्वव्यापी महामारी कोभिड-१९ विरुद्धको लडाईमा अग्रभागमा रहेर संक्रमितहरुको हेरचाहमा अहोरात्र खटिएको भन्दै नर्सहरुप्रति उच्च सम्मान प्रकट गरेकी छिन् ।

    ‘विश्वव्यापी महामारी (कोभिड-१९) विरुद्धको लडाईमा अग्रभागमा रहेर संक्रमितहरुको हेरचाहमा अहोरात्र खटिनु भएका नर्सहरुको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ राष्ट्रपतिले ट्वीटरमा लेखेकी छन् ।

    यस पटक ‘नर्स नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइदैछ । नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका करिब एक लाख नर्स रहेको नेपाल नर्सिङ परिषद्ले जनाएको छ । नेपालमा नर्सिङ अध्ययनका लागि सरकारी तथा निजी लगानीका गरी साढे २ सय शिक्षण संस्था छन् ।

    ती संस्थाले हरेक वर्ष उत्पादन गर्ने ८ हजारभन्दा धेरै नर्सहरु रोजगारी नपाउने समस्याबाट पीडित छन् । काममा विभेद हुने गरेको पनि उनीहरुको गुनासो छ । हाल कोरोना संकटकालका बेला नर्सहरुको भूमिका अझ बढेर गएको छ । यस्तो महामारीको बेलामा सरकारले प्राथमिकतामा राखेर आवश्यक सेवा सुविधा उपलब्ध नगराई काममा लगाउने राज्यको व्यवहारप्रति नर्सहरु रुस्ट भएको पाइन्छ ।

     नर्सको अनुभव

    कोरोनाकालमा २४ सै घण्टा अहोरात्र खटिने नर्समा पर्छिन् सम्झना पाण्डे । उनी हाल ब्लुक्रस अस्पताल, त्रिपुरेश्वरमा कार्यरत छिन् । कोरोना नेपाल भित्रनुअघि उनले अन्य नर्स जस्तै सामान्य तरिकाले ड्युटि गर्नुपर्थ्याे । तर अहिले अवस्था पहिले जस्तो रहेन ।

    कोरोना संक्रमित बिरामी बढेसँगै नर्सहरुले आफ्ना निजी इच्छा र आकांक्षालाई पर राखेर माहामारीविरुद्धको लडाईमा अग्रमोर्चामा खटिनु परेको छ । कोरोना संक्रमितको उपचार गर्दागर्दै आफैंलाई पनि संक्रमण हुनसक्ने जोखिम मोल्दै दैनिक आफ्नो काममा खटिन्छिन् उनी ।

    उनले नर्सिङ पेसाको अनुभव वेबटिभी खबरलाई सुनाउदै भनिन्, ‘नर्सिङमा काममा प्रेसर छ । विहान ७ बजेदेखि भाेलिपल्ट बिहान ७ बजेसम्म खटिनु परेको छ । कामको चाप बढेसँगै २४ सै घण्टा नै अस्पतालमा बस्नु परेको छ । अस्पताल पुगेलगत्तै पिपिई लगाएर काममा खटिनुपर्छ ।’ पिपिई लगाई सकेपछि मन लागेको बेला खाना खान नमिल्ने, पानी पिउन, बाथरुम जान नमिल्ने जस्ता समस्या झेल्नुपर्छ । 

    अस्पतालले पिपिई तथा अन्य स्वास्थ्य मापदण्डका स्रोतसाधन उपलब्ध गराएकोले काम गर्न सहज भएको बताउँछिन् उनी । उनले आफ्नो अनुभव सेयर गर्दै भनिन्, ‘पछिल्लो दिनमा कोरोना संक्रमितको चाप बढेसँगै प्रत्यक्ष बिरामीको सम्पर्कमा बस्नु पर्ने भएकाले घर जाँदा आफ्नो कारणले परिवारका अन्य सदस्यलाई संक्रमण हुन्छ कि भन्ने डर सधै मनमा हुन्छ ।’

    अस्पतालमै खाजा-खाना

    कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै अस्पतालमा चाप बढेको छ । खाजा खान पनि रोटेशन मिलाउनु पर्छ । सम्झनाले पनि आफूले घरबाटै लगेको खाना ओभनमा तताएर खाने गरेको बताइन् ।

    उनले भनिन्, ‘बिरामीको सेवामा खटिनुपूर्व अस्पतालले स्वास्थ्य मापदण्ड कसरी पालना गर्ने भनेर तालिम दिएको हुन्छ । म मेरो पेशाप्रति एकदम खुसी छु । नर्स हु भनेर यस पेशामा आइसकेपछि बिरामीको सेवा गर्न पाउँदा सुखको अनुभूति हुन्छ ।’

    नर्सिङ पेशाप्रति उनको लगाव 

    उनी सानै हुँदा उनकी आमा बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो । केही समय उनले आमासँगै अस्पतालमा बिताइन् । जसकारण उनले सानैमा नर्स र नर्सिङ पेशालाई नजिकबाट नियाल्ने मौका पाइन् ।

    ‘त्यो बेला आमासँगै अस्पतालमा बस्दा नर्सको सौहार्दपूर्ण व्यवहार देखेर पछि गएर नर्स बन्छु भन्ने भाव मनमा आएको थियो । नभन्दै आमालाई पनि नर्सको व्यवहार मन परेर मेरो छोरीलाई पनि नर्स नै बनाउँछु भन्नुभएको थियो । त्यसपछि मैलै परिवारको सहमतिमा नै काठमाडौंमा नर्सिङ पढें ।’ 

    काठमाडौं माेडेल अस्पतालबाट नर्सिङ पूरा गरेकी उनले परिवारको साथ सधैं पाइरहेको सुनाइन् । सरकारले नर्सलाई कामप्रति लगाव बनाइरहने वातावरण बनाउनु पर्ने बताइन् । 

    सम्झना जस्तै कोरोनाकालमा अग्रपंक्तिमा खटिने नर्स हुन् सुनिता बुढाथाकी । उनी हाल किष्ट अस्पताल, ग्वार्कोमा कार्यरत छिन् । नर्सिङ दिवसलाई उनी बिरामीको सेवा गरेरै मनाइरहेकी छिन् । कोरोना महामारी भित्रिएपछि काम गर्न पहिलेजस्तो सहज अवस्था नभएको उनी बताउँछिन् । 

    sunita budhathoki..jpg

    अस्पतालमै बित्छ बढी समय

    उनको आजभोलिको दैनिकी त्यही अस्पतामै बित्ने गरेको छ । माहामारीले गर्दा परिवार र साथीलाई समय दिन नसकिएको उनले बताइन् । ‘कोरोनाको यस्तो अवस्थामा भेटघाट नगरेकै ठिक हो,’ उनले भनिन्, ‘महामारी नै आएको भए पनि बिरामीको सेवा गर्ने मेरो पेशाबाट म खुसी छु ।’

    उनलाई कोरोना संक्रमित भएर आएका बिरामी आफ्नै परिवारको सदस्यझैँ लाग्छ । उपचारपछि बिरामी निको भएर घर फर्केको क्षण र उनीहरुले दिएको आशिर्वादले काम गर्न दोब्बर उत्साह थप्ने गरेको उनले बताइन् ।

    कोभिडको समयमा स्वास्थ्य मापदण्ड लागू गर्न एकदम जरुरी रहेको उनको बुझाइ छ । अहिलेको जोखिमपूर्ण अवस्थामा अस्पतालले पिपिई तथा अन्य स्वास्थ्य सामग्रीको प्रयोग गर्ने भनेर तालीम दिएको उनले बताइन् । महामारीमा अस्पताल खटिनुपर्दा पनि परिवारको पनि राम्रै साथ पाएकोमा उनी खुसी छिन् । 

    महामारी अघिका नर्सिङ दिवस सम्झिँदा रमाइलो लाग्ने गरेको उनले बताइन् । नर्सिङ दिवसको दिन केक काटेर उत्सव मनाउने गरेको उनले सम्झिइन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology