वेबटिभी खबर
काठमाडौं । दशैंको टीकाको दिन यता नेपालगञ्ज क्षेत्रबाट उडान हुने कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा अवरूद्ध भएको छ ।
मौसम सफा नभएको कारण चार दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । लगातार पानी पर्नु र नेपालगञ्जमा कुनै पनि जहाज नभएका कारण हवाई सेवा अवरूद्ध भएको हो ।
गत असोज १८ गते तारा एयरले सिमकोट लगायत कर्णालीका हिमाली जिल्लामा उडान भरेको भए पनि त्यसपछि कुनै पनि उडान हुन सकेको छैन ।
कर्णालीको हुम्लाको सिमकोट, जुम्ला, मुगुको ताल्च, डोल्पाको जुफाल र सुदूरपश्चिम प्रदेशको बाजुराको कोल्टी विमानस्थलमा चार दिनदेखि कुनै पनि उडान नभएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।
नेपालगञ्जले मुख्य गरि निजी तथा नेपाल एयरलाइन्सका कुनै पनि जहाजहरू नभएको कारण उडान हुन नसकेको जनाएको छ । शनिबार पनि नेपालगञ्जबाट हिमाली जिल्लामा उडान भर्ने जहाजहरू कुनै पनि नभएको बताइएको छ ।
त्यस्तै स्थलमार्गसमेत अवरुद्ध भएको छ । वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा जाजरकोट डोल्पा र कर्णाली राजमार्ग लगायतका क्षेत्रमा सवारी आवागमण अवरूद्ध हुनुका साथै यात्रुहरूले सास्ति भोगीरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij