वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा कांग्रेस महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएको सर्लाही क्षेत्र नम्बर ४ मा नागेन्द्र कुमार रायले टिकट पाएका छन् ।
थापाले शनिबार राति सर्लाही नजाने निर्णय दिएपछि त्यहाँको टिकट कसले पाउने भन्नेमा विवाद थियो । अघिल्लो पटक जितेका अमरेश सिंहलाई क्षेत्र र जिल्लाले उम्मेदवारको रूपमा सिफारिस गरेको थिएन ।
थापाको मात्र नाम सिफारिस भएकाले अर्को उम्मेदवार टुंग्याउन समय लागेको थियो । आइतबार बिहान मात्र रायको नाममा टिकट जारी भएको हो ।
राय निवर्तमान सांसद र कांग्रेसका निवर्तमान जिल्ला सभापति हुन् । सर्लाही ४ उनको गृहक्षेत्र नभए पनि थापा नजाने भएपछि रायले नै टिकट पाउनु पर्ने अडान जिल्ला कार्यसमितिले राखेको थियो ।
आइतबार बिहान ११ बजेमात्र रायको नाममा सहमति जुटेर टिकट जारी भएको हो । अघिल्लो पटक जितेका सांसद अमरेशलाई भने जिल्ला समितिले कुनै हालतमा टिकट दिन नहुने अडान राखेको थियो ।
अमरेशलाई उक्त क्षेत्रमा आउन नदिन थापाको एकल नाम सिफारिस गरिएको थियो । थापाले शनिबार साँझ सर्लाही नजाने स्पष्ट पारेपछि रातारात रायको नाम अघि सारेर उनलाई टिकट दिइएको हो ।
रायले टिकट पाएको स्वीकार्दै सबैलाई मिलाएर प्रचारमा जुट्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij