Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सहकारीको ऋणबाट व्यावसायिक बाख्रापालन

सहकारीको ऋणबाट व्यावसायिक बाख्रापालन

  • 383
    SHARES
  • सहकारीको ऋणबाट व्यावसायिक बाख्रापालन

    दाङ । घोराही उपमहानगरपालिका-६ अघराकी रामकुमारी थापाको बाख्रा खोरमा अहिले ४५ वटा बाख्रा छन् । २० वटा माउ, तीन वटा बोका, १० वटा खसी र १२ वटा साना पाठापाठी छन् ।

    घरखर्च चलाउन सुरुमा बाख्रापालन सुरु गरेकी रामकुमारी अहिले व्यावसायिक बाख्रा पालनमा लागेकी छिन् । उनले पाँच लाख लगानी गरेर चार कोठासहितको ठूलो खोर निर्माण गरेर बाख्रापालन गरेकी हुन् ।

    एउटा खसीलाई २० देखि २५ हजारमा बिक्री गर्ने गरेको उनले बताइन् । भर्खरै सकिएको दसैंमा दुई लाखको खसीबोका बिक्री गरेको उनको भनाइ छ । उनले घोराही-६ मा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख पचास हजार ऋण लिएर व्यवसाय सुरु गरेकी थिइन् ।

    ‘सहकारीले ऋण दिएकाले व्यवसाय गर्न सजिलो भएको हो’, उनले भनिन्, ‘वैदेशिक रोजगारीमा जानुभएका श्रीमान् पनि अहिले घर फर्केर काममा सघाउदा सहयोग भएको छ, अब यतै काम गर्ने सोचाइमा छौं ।’

    घोराही-६ चैनपुरकी शोभा वलीले २०७५ देखि बाख्रा पाल्न सुरु गरेकी हुन् । अहिले उनीसँग १२ खसी, १५ माउ र साना पाठापाठी २१ गरी जम्मा ४८ बाख्रा छन् । गत वर्षको दसैंमा उनले दुई लाख २० हजारको खसी बिक्री गरेको र यस वर्ष पनि दसैंमा पाँचवटा खसी बिक्री गरेर एक लाख ६० हजार आम्दानी गरेको बताइन् ।

    बिक्री गर्न तयारी अवस्थामा रहेका अझै पाँच वटा खसी रहेको र आउँदै गरेको तिहारमा सबै बिक्री हुने उनको भनाइ छ । उनको चार जनाको परिवार छ । वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमान् वैशाखमा घर फर्किएपछि दुवै जना मिलेर व्यवसायलाई अगाडि बढाउने योजना रहेको उनले जानकारी दिइन् ।

    ‘सबैले मिलेर घरको काम गर्ने गरेका छौं’, उनले भनिन्, ‘घरको छेउमा किमु र मकैचरी घाँस रोपेका छौं, बाख्रालाई खुवाउन सजिलो भएको छ ।’ बाख्रापालनमा खासै लगानी गर्नु नपरेको तर, आम्दानी भने सन्तोषजनक रहेको साथै सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको उनको भनाइ छ ।

    घोराही-६ की गीता घर्तीले पनि व्यावसायिक बाख्रापालनमा लागेकी छिन् । दसैं तिहारको मौकामा बाख्रा बढी बिक्री हुने गरेको उनको भनाइ छ । यस वर्षको दसैंमा एक लाख १० हजारको खसी बिक्री गरेको उनले बताइन् ।

    उनले वर्षमा चार लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेकी छिन् । ‘पहिलेकोभन्दा अहिले त मान्छेले हेर्ने दृष्टिकोण नै फेरिएको छ, पहिले बाख्रा थोरै थिए, पालेर घरखर्च मात्र ठिक्क हुन्थ्यो’, उनले भनिन्, ‘अहिले कमाइ राम्रो भएको छ, घर छेउको दुईकट्ठा खेत जोडेको छु ।’

    चार वर्षअघि शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख ऋण लिएर सुरु गरेको बाख्रा पालन व्यवसायले प्रशस्त आम्दानी दिएको उनले बताइन् । उनले भनिन्, ‘अझै बढाउने योजना छ, सहकारीबाट ऋण पाएपछि हौसला बढेको हो ।’

    शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष शरदकुमार आचार्यले घोराही-६ कार्यक्षेत्र निर्धारण गरेर १७ वर्ष अगाडि स्थापना भएको सहकारीले ग्रामीण क्षेत्रका सदस्यलाई सहयोग पुगेको बताए ।

    शेयर सदस्यलाई कर्जा लिन सजिलो हुने गरी काम गरेको उनको भनाइ छ । व्यवसाय र कृषि पेसा गर्न चाहने सदस्यलाई ऋण प्रवाह गर्ने गरेको उनले जानकारी दिए ।

    अहिले सहकारीमा एक हजार तीन सय ६७ जना सदस्य छन् । जसमा सात सय २६ जना महिला, छ सय ३७ जना पुरुष र ८० संघ सस्था सदस्य रहेका छन् । सबै सदस्यलाई ऋण लगानी गर्दा माग गरे अनुसार पुर्‍याउन सकिएको उनले बताए ।

    सहकारीबाट कर्जा लिएर सदस्यले जीवनस्तर परिवर्तन गरेको देख्दा खुसी लाग्ने गरेको उनको भनाइ छ ।  कृषिका लागि ऋण लिन चाहने सदस्यलाई १४ प्रतिशतमा ऋण दिने गरेको कोषाध्यक्ष आचार्यले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij