वेबटिभी खबर
सर्लाही । सत्तारूढ पाँच दलीय गठबन्धनको मंगलबार सर्लाही सदरमुकाम मलंगवामा बसेको बैठकले बागी उम्मेदवार उठेका सबैलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । सत्ता गठबन्धनबाट ९ जनाले बागी उम्मेदवारी दिएकामा सबैभन्दा बढी माओवादीका ८ जना छन् ।
माओवादी बागी उम्मेदवारका कारण गठबन्धन नै भत्किने अवस्था भएकाले यो निर्णयबारे शीर्ष नेतालाई पनि जानकारी गराउने निर्णय भएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनकै ९ जनाले बागी उम्मेदवारी दिएपछि गठबन्धनको बैठक बसेर फिर्ता लिन आग्रह गरेको हो ।
कांग्रेसको पार्टी कार्यालयमा बसेको बैठकले आ–आफ्ना दलको शीर्ष नेतृत्वलाई यसबारे दिएर जानकारी गराएर आवश्यक बागी उम्मेदवारी फिर्ताका लागि निर्देशन दिन आग्रह गर्ने निर्णय पनि भएको छ । बैठकले बागी उम्मेदवारको नाम किटान गरेर सम्बद्ध पार्टीलाई उम्मेदवारी फिर्ताका लागि पहल गर्न आग्रह गरेको छ ।
कांग्रेस सभापति सुरेन्द्र प्रसाद सिंहले माओवादीका बागी उम्मेदवारल गर्दा गठबन्धन नाजुक हुनसक्ने अवस्था देखिएको बताए । ‘जताततै बागी उम्मेदवारी पर्नु गठबन्धनका लागि राम्रो कुरा होइन,’ उनले भने, ‘माओवादीको ८ ठाउँमा र कांग्रेसको एक ठाउँमा बागी उम्मेदवारी परेको देखियो ।’
उम्मेदवारी फिर्ताको विषयलाई गठबन्धन दलले गम्भीर रूपमा लिएका छन् । बागी उम्मेदवारी फिर्ता नभए गठबन्धन टुटुने सम्भावना बढेपछि बैठक बसेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij