वेबटिभी खबर
धादिङ । डेंगु तथा ज्वरोका बिरामी बढेपछि धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको हो ।
अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन् । डेंगुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्नका लागि पहल भने भएको छैन ।
धादिङबेँसीस्थित धादिङ अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सिटामोल उपलब्ध हुने भए पनि औषधि बिक्री गर्ने अस्पतालको फार्मेसीमा भने मागेजति सिटामोल दिन सकिने अवस्था नभएको फर्मोसीका सञ्चालकले बताएका छन् । निजी मेडिकलमा सिटामोल अभाव भएको छ ।
डेंगुका बिरामी बढेको बेला धेरै सिटामोल चाहिने भए पनि कम्पनीले सिटामोल नदिएको रुपा मेडिकलका सञ्चालक गोपी श्रेष्ठको भनाइ छ । धादिङमा गत साउन १ गतेयता करिब तीन महिनाको अवधिमा एक हजार ८६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै जिल्लामा ९० जनामा डेंगु संक्रमण पुष्टि भएको हो । अस्पतालमा बिरामीको चापले शय्या भरिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij