वेबटिभी खबर
जुम्ला । जुम्लामा केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर हालसम्म ज्यान गुमाउनेको संख्या दश पुगेको छ । बाढी पहिरोबाट विस्तापित घरपरिवारलाई उद्धार तथा राहत वितरणका लागि बुधबार जिल्ला विपत व्यवस्थापन समितिको वैठक बसेको छ ।
विपत व्यवस्थापन समितिको बैठकमा गत असाेज १९ गतेदेखि हालसम्म जिल्लामा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएको, ८५ घरमा पूर्ण क्षति भएको र तीन परिवार राहतको पर्खाइमा रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार कनकासुन्दरी-५ मा गणेश शाहीका पाँच जनाको परिवार, दुई छिमेकीसहित सात जनाको बाढीपहिरोमा परेर ज्यान गएको थियो ।
त्यस्तै कनकासुन्दरी गाउँपालिका-३ निवासी खड्क न्यौपानेको बाढीले बगाएर निधन भएको उनले बताए । यसैगरी जिल्लाको हिमागाउँपालिका-३ जोगिवाडामा बाढीले आमाछोरा बगाएकोमा आमाको शव भेटिएको प्रजिअ केशरीले जानकारी दिए ।
गुठिचौर गाउँपालिकाको मणिसाँघुमा घर भत्किदा डोल्पा घर भई जुम्ला सदरमुकाम आउँदै गरेकी एक महिलाको निधन भएको थियो ।
विपत व्यवस्थापन समितिले तयार गरेको तथ्यांकअनुसार जिल्लामा ८५ घरमा पूर्ण क्षेति भएको छ भने २०० घरमा आशिंक क्षेति पुगेको छ । यस्तै १०० घर उच्च जोखिममा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
कर्णाली राजमार्ग, नाग्म गमगढि राजमार्ग पहिरोले यातायात आगमन ६ दिनदेखि बन्द भएको छ । २० असोज बेलुकीबाट टेलिफोन र इन्टरनेट सेवा पनि बन्द भएको केशरीले जानकारी दिए ।
भित्र्याउन लागेको मार्सीधानमा धेरै क्षेति पुगेको छ भने सिमी, कोदो, मकैसहितका बालिमा पनि क्षेति पुगेको छ ।
राहतमा जुट्यो जुम्ला
जिल्ला प्रशासन कार्यालयमा बसेको विपत व्यवस्थापन समितिको बैठकले तत्काल गर्नुपर्ने काम र राहात व्यवस्थापनबारे निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति, स्थानीय सरकार, राजनैतिक दल, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख, पत्रकार तथा नागरिक समाजको उपस्थितमा सम्पन्न बैठकमा तत्काल सडक सुचारु गर्न तथा आकस्मिक रेस्क्यू तथा राहातका लागि जिल्लाको सबै शक्ति प्रयोग गर्ने निर्णय गरिएको छ ।
बैठकले गत असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण राजमार्गमा पहिरो गई सवारी आवागमन बन्द भएकाले सडक विभागसँग सडक सुचारू गर्न अनुरोध गर्ने, जिल्लाका आठ वटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकाले चार लाख र अन्य पालिकाले दुई लाखका दरले जिल्ला विपत व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
जिल्ला व्यवस्थापन समितिको कोष वृद्धिका लागि सर्वसाधारणलाई समेत अनुरोध गर्ने र कर्णाली राजमार्ग तथा सहायक बाटोहरू खुलाउन जिल्लाका सबै डोजर प्रयोग गर्ने निर्णय भएको छ ।
स्थानीय सरकारले विपतमा पूर्णरूपमा लागेर काम गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सबै तहले एकसाथ दुःखको घडीमा काम गर्नुपर्ने बताए ।
चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले स्थानीय तहको क्षेतिको अवस्थाका बिषयमा जानकारी गराएका थिए ।
४ जनाको हेलिकोप्टरमार्फ उद्धार
बाढी पहिरोमा परेर घाईते भएका दुईजना र बिजुली बनाउँदा लडेर घाइते भएका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
कनकासुन्दरी गाउँपालिकामा घाइते भएका सरस्वती हमाल र रामबहादुर हमाललाई सुर्खेत लगेर उपचार गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij