वेबटिभी खबर
मेलम्ची । पछिल्लो समय सिन्धुपाल्चोकमा स्थानीय जातका कुखुरा पाइनै छाडेको छ । क्रस, ब्वायलर र गिरिराज जातका कुखुरा गाउँगाउँमा पाइन थालेपछि स्थानीय जातका कुखुरा पाइन छाडेका हुन् ।
स्थानीय जातका कुखुराबाट आम्दानी हुन लामो समय कुर्नुपर्ने र उन्नत र ब्वायलर कुखुराबाट छिटो आम्दानी हुने भएपछि स्थानीय जातका कुखुरामा कमी आउन थालेको हो ।
जिल्लाको सुगम ठाउँमा मात्रै नभएर दुर्गम क्षेत्रमासमेत ब्वायलर, कोइलर र गिरिराज जातको कुखुराको चल्ला ल्याएर पाल्न थालेपछि स्थानीय जातका कुखुरामा कमी हुँदै आएको छ ।
स्थानीय जातका कुखुरा महँगो पर्नाका साथै हुर्कनका लागि समय लाग्ने भएकाले लेयर्स, ब्वायलर कोइलर, गिरिराज जातका कुखुरापालनप्रति किसानको आकर्षण बढेको मेलम्ची-७ की बिना भारतीले बताइन् ।
छिटो हुर्कने र सस्तो हुने भएकाले नयाँ जातका कुखुराको माग बढ्न थालेकाले स्थानीय जातको कुखुरामा कमी आएको उनको भनाइ छ । कृषकहरूले घरघरमा खानकै लागि पनि आधुनिक जातका कुखुरापाल्ने गरेको इन्द्रावती-४ का नरमान श्रेष्ठले बताए ।
उनले नयाँ जातका कुखुराहरू छिटो हुर्कने र धेरै आम्दानी गर्न सकिने भएपछि अधिकांशले आफू खान र केही खर्च जुटाउन पनि उन्नत जातका कुखुरा मात्रै पाल्ने गरेको जानकारी दिए ।
स्थानीय जातका विशेषगरी साकिनी, घाँटी खुइले र उल्टे प्वाँख जातका कुखुराभन्दा ब्वायलर कुखुरा दुई महिनाभित्र बजारमा लिएर आउने र बिक्री भएर आम्दानी हातमा पर्ने भएकाले स्थानीय जात हराउन थालेको स्थानीयहरूको भनाइ छ ।
स्थानीय जातको कुखुराको माग अत्यधिक हुने भए पनि उत्पादन हुन धेरै समय लाग्ने भएकाले स्थानीय जातका कुखुरापालनमा कृषकको आकर्षण कमी आएको मेलम्ची-१० का देवीबहादुर अधिकारीले बताए ।
अधिकारीका अनुसार पछिल्लो समय सस्तो मूल्यमा ब्वायलर, कोइलर, गिरिराज कुखुरा आउन थालेपछि किसानहरू उन्नत जातका कुखुराप्रति आकर्षित भएका छन् । स्थानीय जातका कुखुरापालनमा आकर्षित हुने कृषकको संख्या कमी आएको छ ।
जिल्लाका प्रत्येक गाउँ-गाउँमा विभिन्न उन्नत जातका कुखुराको प्रचलन बढ्दै गएको छ । स्थानीय जातका कुखुरा संरक्षणमा र स्थानीय जातको कुखुराको उत्पादनमा वृद्धि गरी बजारीकरणमा सहजीकरण गर्न स्थानीय तहले सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij