वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ । केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत लिन नसकेपछि २७ वैशाखमा संविधानको धारा ७६ (२) नयाँ सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आज राति ९ बजेसम्मको समयसीमा दिएकी थिइन् ।
नयाँ सरकार गठनको समयसीमा सकिन लाग्दा पनि दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा सहमति जुट्न सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयासमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल तीव्र पारे पनि जसपाकै महन्थ ठाकुर पक्षले साथ दिएको छैन ।
संविधानको धारा ७६ (२) को सरकार निर्माणमा निर्णायक देखिएको जसपाभित्रको ध्रुवीकरणले नयाँ सरकार गठनमा अन्यौलता देखिएको छ । नयाँ सरकारका लागि एमालेभित्रको खनाल-नेपाल समूहको भूमिका पनि निर्णायक छ । सामूहिक राजीनामाको चेतावनी दिँदै आएको उक्त समूहका २८ सांसद ओलीले विश्वासको मत लिँदा संसदमा अनुपस्थित थिए । उनीहरूले राजीनामा दिएको खण्डमा पनि नयाँ सरकार बन्न सक्ने भएपछि विपक्षी गठबन्ध जसपा र खनाल-नेपाल पक्षको निर्णय पर्खेको छ ।
गठबन्धनको सरकार बनाउने चाहिने १३६ संख्या पुग्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा ३२ मध्ये कम्तीमा २६ सांसदको साथ चाहिन्छ । तर जसपाभित्रको विभाजनले एमालेको खनाल-नेपाल पक्षले राजीनामा दिए सरकार बन्न सक्छ ।
संविधानको धारा ७६ को (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउनु पर्नेछ । यदि त्यसो हुन नसके ७६ (३) अनुसार संसद्को सबैभन्दा ठूलो दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्न सकिने व्यवस्था छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij