Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

१५ पदका लागि रूपन्देहीबाट २०२ जनाको उम्मेदवारी

१५ पदका लागि रूपन्देहीबाट २०२ जनाको उम्मेदवारी

  • 308
    SHARES
  • १५ पदका लागि रूपन्देहीबाट २०२ जनाको उम्मेदवारी

    काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रूपन्देहीबाट २०२ जनाले उम्मेदवारी दिएका छन् । ५ निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा ५ प्रतिनिधिसभा र १० प्रदेशसभा गरि १५ पदका लागि २०२ जनाले उम्मेदवारी दिएका हुन् ।

    विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरि प्रतिनिधिसभाका लागि ८८ जना र ११४ जनाले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । बुधबार रूपन्देहीस्थित ५ वटै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो ।

    जिल्लाबाट कुल २१४ जनाले उम्मेदवारी दर्ता गराएकाेमा ९ जनाले उम्मेदवारी फिर्ता लिएको र ३ जनाको उम्मेदवारी खारेज भएको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए ।

    उम्मेदवारी खारेज हुनेमा  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देही-२मा सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङ, हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी दिएका कमल भूसाल ‘निकोलस’ र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल रहेका छन् ।

    ३ जनाविरुद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानविन गरि उम्मेदवारी खारेज गरिएको हो । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङ एकीकृत समाजवादीका रूपन्देही अध्यक्ष हुन् । अदालतले बैंकिङ कसुरमा जरिवाना गरेकाले गुरूङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उनको उम्मेदवारी खारेज भएको हो ।

    भूसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेकाले र स्वतन्त्रबाट उम्मेदवार बस्यालको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका-२०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    नौ जनाको उम्मेदवारी फिर्ता

    निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारका लागि मनोनयन फिर्ता लिने समय रहेको थियाे । उक्त अवधिमा रूपन्देहीबाट ४ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र ५ जना प्रदेशसभा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    क्षेत्रनम्बर-३ बाट बाबुछोराले नै मनोनयन दर्ता गरि चर्चामा आएका माओवादी केन्द्रका उम्मेदवारले मनाेनयन फिर्ता लिएका छन् । गृहमन्त्री बालकृष्ण खाणका भान्जाले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।

    प्रतिनिधिसभा सदस्यमा गृहमन्त्रीका भान्जा शिव मल्ल र गठबन्धनबाट बागी उम्मेदवारको रूपमा रहेका माओवादी केन्द्रका इमदाद हुसैन खाणले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    हुसैन खाण फैज अहमदका छोरा हुन् उनी माओवादी केन्द्रबाटै प्रदेश-३ को (क) बाट उम्मेदवारी दिए पनि छोरासँगै फिर्ता लिएर गठबन्धनलाई सहयोग र समर्थन गर्ने जनाएका छन् ।

    त्यस्तै निर्वाचन क्षेत्रनम्बर-३ को प्रदेशसभा (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका धनबहादुर लामाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

    निर्वाचन क्षेत्रनम्बर-१ को (ख)बाट उम्मेदवार बनेका दुईजना, निर्वाचन क्षेत्रनम्बर-५ को प्रतिनिधिसभा सदस्यकाे उम्मेदवार बनेका दुईजना र क्षेत्रनम्बर-५ को (क) बाट एकजनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

    उम्मेदवारी फिर्ता लिएसँगै रूपन्देहीमा ५ प्रतिनिधिसभा सदस्यका लागि ८८ जनामा प्रतिस्पर्धा हुने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij