Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

संक्रमण फैलन नदिन नागढुंगा सुरुङमार्ग निर्माणमा खटिनेका लागि छुट्टै व्यवस्था

संक्रमण फैलन नदिन नागढुंगा सुरुङमार्ग निर्माणमा खटिनेका लागि छुट्टै व्यवस्था

  • 108
    SHARES
  • संक्रमण फैलन नदिन नागढुंगा सुरुङमार्ग निर्माणमा खटिनेका लागि छुट्टै व्यवस्था

    काठमाडौं । नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा नै भइरहेको छ । विश्वव्यापी महामारीको समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ ।

    आयोजनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएकाले विगत महिनामा जस्तै अहिले पनि यहाँ ६ सय ५० भन्दा बढी कामदार कार्यरत छन् । अहिले निर्माणस्थलमा बाहिरबाट कोही पनि सकेसम्म नआउने र आउनै पर्ने व्यक्ति पनि स्वास्थ्य जाँच गरेर मात्रै आउन दिइएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।

    बाहिरबाट जानैपर्ने व्यक्तिलाई ज्वरो जाँच गरेर मात्रै छिर्न दिइने गरिएको छ । आयोजनामा सम्बन्धित व्यक्तिबाहेक बाहिरबाट आगन्तुक जान रोक लगाइएको छ । उनले भने, ‘अहिलेको अवस्थालाई विचार गरेर हामी पनि आवश्यक हुँदा मात्रै जाने गरेका छौं ।’

    स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिएको र त्यति गर्दागर्दै कसैलाई संक्रमण भएको शंका  लागेमा छुट्टै बस्नका लागि व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ ।

    निर्माणस्थलमा नै २५ जना क्षमताको १० कोठाको आइसोलेशन बनाइएको छ । तीन ठाउँमा २५/२५ जना बस्न सक्ने गरी छुट्टाछुट्टै क्याम्पको व्यवस्था मिलाइएको छ । कोही व्यक्ति संक्रमित भइहालेमा उसलाई तत्काल छुट्याएर राखिने प्रमुख शाक्यले बताए ।

    निर्माणस्थलमा कार्यरत व्यक्तिलाई समस्या आउँदा तत्काल समाधान गर्न अक्सिजन सिलिण्डर र मेडिकल टोली पनि व्यवस्था रहेको प्रमुख शाक्यले जानकारी दिए ।

    मेडिकल टोलीमा अहिलेसम्म चिकित्सक नभएकामा त्यसको पनि आवश्यक रहेकाले ल्याउने योजना रहेको उनले बताए । आवश्यक पर्दा एम्बुलेन्स पनि तयारी रहेको बताइएको छ । उनले भने, ‘हामीले सकेसम्म आवश्यक पर्ने सबै कुराको व्यवस्था मिलाइएको छ ।’

    निर्माणस्थलमा अहिलेसम्म जनशक्ति र निर्माण सामग्रीको अभाव छैन । निषेधाज्ञामा व्यवस्था गरिएअनुसार निर्माण सामग्री रातको समयमा ल्याउने गरिएको छ ।

    निषेधाज्ञाको नियम पालना गरेर काम भइरहेको प्रमुख शाक्यले जानकारी दिए। निर्माण सामग्री उत्पादन गर्ने ठाउँमा कोभिडले अवरोध गरेर रोकिए पनि अहिलेसम्म निर्माणस्थलमा कुनै पनि किसिमको अवरोध छैन । उनले भने, ‘अहिले जोखिमलाई विचार गरेर साइटबाट अन्यत्र संक्रमण नसरोस् भनेर ध्यान पुर्‍याइएको छ ।’

    गत महिनासम्म काम गरिरहेका कामदारमध्ये कोही पनि अहिलेसम्म निर्माणस्थल छाडेर गएका छैनन् । कामदार निर्माणस्थलभित्र नै क्याम्पमा बसेर काम गरिरहेका आयोजनाले जनाएको छ । बाहिरबाट आवतजावत कम गर्दा संक्रमण फैलन सम्भावना कम हुने भएकाले सकेसम्म अरुलाई पनि भित्र बस्ने व्यवस्था मिलाइएको छ ।

    प्रयोगशाला प्राविधिक (ल्याब टेक्निसियन) सामान्य अवस्थामा बाहिरबाट आउजाउ गरेकामा अहिले भित्र बस्न व्यवस्था मिलाइएको छ । नेपाली र जापानीलाई थोरै संख्यामा मात्रै पास दिइएको उनले बताए । उनले भने, ‘पाँच गाडीलाई पास दिएर कम आवतजावत गरिएको छ ।’

    सुरुङ निर्माणको काम अहिलेसम्म तोकिएको तालिकाभन्दा एक महिना पछाडि रहेको छ । गत आर्थिक वर्षमा कोभिडका कारण लामो समयसम्म निर्माणमा अवरोध भए पनि तालिकाभन्दा कम मात्रै पछाडि रहेको छ ।

    निर्माणस्थलमा काठमाडौं र धादिङ गरी दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । धादिङतर्फ माटो फिलिङ गरेपछि दुवैतर्फबाट खन्ने योजना बनाइएको थियो । तर सुरुङभित्र माटो लैजान भित्र जाम हुने भएकाले अहिले कहिले काठमाडौंतर्फ त कहिले धादिङतर्फ खन्ने काम भइरहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology