Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इजरायल र गाजाबीच भइरहेको हिंसाले युद्ध निम्त्याउन सक्ने खतरा

इजरायल र गाजाबीच भइरहेको हिंसाले युद्ध निम्त्याउन सक्ने खतरा

  • 1.1K
    SHARES
  • इजरायल र गाजाबीच भइरहेको हिंसाले युद्ध निम्त्याउन सक्ने खतरा

    जेरुसेलम । साेमबारदेखि इजरायल र प्यालेस्टाइनबीच जारी हिंसा थप चर्किँदै जाँदा युद्ध निम्तिन सक्ने खतरा देखिएकाे छ । अरब विज्ञहरु एवं अधिकारवादीहरुले जेरुसेलममा भड्किएको हिंसाले अरब र यहुदी समुदायबीच तनाव बढेकाे बताएका छन् । जेरुसेलम घटनाले अर्को गाजा युद्ध निम्त्याउने सम्भावना बढाएको छ । 

    images

    प्यालेस्टाइनकाे गाजा क्षेत्रबाट इजरायलीतर्फ क्षेप्यास्त्र प्रहार भइरहँदा इजरायलभित्रैका अरब र यहूदी समुदायबीच सडकमा हिंसात्मक झडपहरु भइरहेका छन् । धेरै वर्षपछि पहिलोपटक भएको ठूलो हिंसामा उत्रेका दुवै समुदायले सवारी साधन, रेस्टुरेन्ट र यहूदी प्रार्थनागृह (सिनागग) मा आगो लगाइदिएका छन् ।

    दुवै समुदायको मिश्रित बसोबास रहेको सहर लोदका मेयरले मंलबारको यस हिंसात्मक झडपलाई गृहयुद्ध वा प्यालेस्टिनीको पुनः उदयसँग तुलना गरेका छन् । 

    बुधबार राति पनि हिंसा पुनः भड्किएको थियो र एकअर्कामाथि प्रतिशोध राखेर आक्रमणहरु भएका थिए । तेल अभिभको बाहिरी इलाकाबाट याममा दक्षिणपन्थी राष्ट्रवादी इजरायलीको ठूलो समूहले अरब व्यक्ति चढेको आशंकामा एउटा कारलाई रोकेर ती व्यक्तिलाई बाट याममा रक्ताम्य हुनेगरी भुइँमा पछारेर कुटपिट गरे । पछि अस्पताल भर्ना गरिएका ती व्यक्तिको स्वास्थ्य अवस्था निकै जटिल रहेको बताइएको छ । 

    यसअघि, कालो पहिरनमा उत्रेका इजरायलीले बाट याम सहरकै एउटा अरब व्यक्तिले सञ्चालन गरेको आइसक्रिम पसलका झ्यालका सिसा फुटाइदिएका थिए । अतिवादी यहूदीहरुले टेलिभिजनको प्रत्यक्ष प्रशारणमै 'अरबीहरु मर्नुपर्छ', भन्दै नाराबाजी गरिरहेका थिए । उत्तरी सहर टिबेरियाजमा इजरायली झण्डा बोकेका अतिवादीहरुले सम्भवतः अरबी चढेको कारमाथि ढुंगामुढा गरिरहेको दृश्य सामाजिक सञ्जालमा राखिएको थियो ।

    इजरायलको च्यानल १३ ले एक जना वरिष्ट प्रहरी अधिकृतलाई उद्धृत गर्दै तटीय सहर अकरमा अरबी व्यक्तिहरुले एक जना यहूदी व्यक्तिमाथि कुटपिट गरेर सख्त घाइते बनाएको खबर प्राप्त भएको जनाएको छ । 

    राति अबेर प्रशारण भएको अन्तर्वार्तामा इजरायली राष्ट्रपति रुभेन रिभलिनले देश अहिले गृहयुद्धमा पर्न थालेको बताउँदै नागरिकलाई यस्तो बहुलठ्ठीपन तत्काल रोक्न आग्रह गरे । 

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यहूदी र अरब दुवै समुदायलाई एकअर्का विरुद्ध आक्रमण नगर्न आग्रह गरे । प्रहरीले बुधबार देशका विभिन्न भागमा हिंसात्मक भीडन्तमा सहभागी झण्डै ४ सय व्यक्तिलाई नियन्त्रणमा लिएकाे जनाएको छ । 

    इजरायलका अरब अल्पसंख्यकले इजरायली राजनीतिमा स्वीकार्यता र प्रभाव बढाउनै लागेको समयमा यस्तो हिंसात्मक घटना भएको छ । इस्लामिक पृष्ठभूमिका अरब पार्टीका प्रमुख मन्सुर अब्बास गत मार्चको चुनावपछि नयाँ सरकार गठनमा राम्रै भूमिकामा देखिएका छन् ।

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकार ढाल्ने गरी निर्माण भएको विपक्षीहरुको गठबन्धनमा अब्बासको पनि मुख्य भूमिका देखिएको छ । 

    तर बुधबार एपीसँग कुरा गर्दै अब्बासले हिंसात्मक घटना बढ्न थालेकाले गठबन्धनको विषय अहिले ओझेलमा परेको बताए । हालैका दिनहरुमा इजरायलमा बसोबास गर्ने अरब नागरिकहरुले जेरुसेलममा प्रहरी दमन बढाइएको र दर्जनौं प्यालेस्टिनी परिवारलाई हटाउने योजना ल्याइएको भन्दै देशव्यापी विरोध प्रदर्शन गरिरहेका छन् । 

    इजरायलमा रहेबसेका अरब अल्पसंख्यकले इजरायलको कूल जनसंख्याको झण्डै २० प्रतिशत हिस्सा ओगटेका छन् । उनीहरु मूलतः प्यालेस्टिनी मूलका हुन् । यी समुदायसँग इजरायलको नागरिकता छ र मतदानको अधिकार पनि छ, तर विभिन्न विभेदको सामना गर्नु परिरहेको छ । 

    यसैबीच, रमादानको अन्तिम दिनको तयारीमा जुटेका गाजाका प्यालेस्टिनी मुस्लिम समुदाय अहिले इजरायली हवाई कारबाहीको चपेटामा परेका छन् । गाजा क्षेत्रबाट प्यालेस्टिनी विद्रोहीहरुले इजरायलतर्फ एकपछि अर्को क्षेप्यास्त्र प्रहार गरिरहेका छन् भने त्यसको प्रतिशोधमा इजरायलले पनि भीषण सैन्य कारबाही गरिरहेको छ । 

    एकअर्काबीच आक्रमणको सिलसिला गत सोमबारदेखि सुरु भएको हो । यसबीचमा इजरायलले हमास लडाकू रहेको भन्दै दुईवटा अग्ला भवन ढालिदिएको छ । उक्त भवनमा निशाना बनाउनुअघि इजरायलले त्यहाँ रहेबसेका सर्वसाधारणलाई भवन खाली गर्न चेतावनी दिएको थियो । 

    इजरायली सेनाको भनाइमा सोमबार यतामात्र एक हजार ६ सय क्षेप्यास्त्र गाजा क्षेत्रबाट प्रहार गरिएको छ जसमध्ये ४ सय वटा गाजा क्षेत्रमै खसेका थिए । इजरायली सेनाले ६ सय भन्दा बढी क्षेप्यास्त्र गाजा क्षेत्रमा हमासका लडाकू रहेका ठाउँमा प्रहार गरिएको जनाएको छ । 

    हालसम्मको यस आक्रमणबाट ६९ जना प्यालेस्टिनीको मृत्यु भएको छ जसमा १६ जना बालबालिका र ६ जना महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

    इस्लामिक जिहाद र हमासले आफ्ना वरिष्ठ नेता एवं लडाकूहरु इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ । जिहादीहरुको आक्रमणमा सात जना इजरायलीको पनि ज्यान गएको छ । 

    यसैबीच, संयुक्त राष्ट्रसंघ र इजिप्टले दुवै पक्षबीच युद्धबिरामको प्रयास जारी रहेको जनाएका छन्, तर त्यसतर्फ खासै प्रगति हुन सकेको छैन । इजरायलको च्यानल १२ ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको मन्त्रिपरिषदले थप आक्रामक कारबाही गर्न सेनालाई आदेश दिएको जनाएको छ । 

    राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रबाट इजरायलतर्फ अन्धाधुन्ध भइरहेका क्षेप्यास्त्र आक्रमणको निन्दा गरेका छन् । साथै उनले इजरायललाई पनि बढीभन्दा बढी संयमता अपनाउन आग्रह गरेका छन् ।  

    अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्रीलाई फोन गरी आत्मरक्षा गर्न पाउने इजरायलको अधिकार रहेको बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वमा तनाव मत्थर पार्ने गरी वरिष्ठ कुटनीतिज्ञ त्यसतर्फ पठाइने बताएका छन् । 

    इजरायल र हमासबीच द्वन्द्व जारी, तेल अभिभमा संकटकाल  इजरायल र हमासबीच द्वन्द्व जारी, तेल अभिभमा संकटकाल  इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कियाे,  बालबालिकासहित २० को मृत्यु इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कियाे, बालबालिकासहित २० को मृत्यु किन भइरहेछ अल अक्सामा हिंसा ? किन भइरहेछ अल अक्सामा हिंसा ?

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology