Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाह्रसिङ्गा हेर्नका लागि उपयुक्त गन्तव्य स्थल शुक्लाफाँटा 

बाह्रसिङ्गा हेर्नका लागि उपयुक्त गन्तव्य स्थल शुक्लाफाँटा 

  • 463
    SHARES
  • बाह्रसिङ्गा हेर्नका लागि उपयुक्त गन्तव्य स्थल शुक्लाफाँटा 

    महेन्द्रनगर । सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमिको दूरीमा छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा रहेको शुक्लाफाँटामा विश्वको सबैभन्दा ठूलो घाँसे मैदान (फाँट)छ । घाँसे फाँटमा एकै पटक सयौं बाह्रसिङ्गाको बथान देख्न सकिन्छ ।

    बाह्रसिङ्गाको टाउकामा सिङका छ/छ वटा हाँगा हुन्छन् । आँखै अगाडि देखिने बाह्रसिङ्गाको बथानले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छ । बाह्रसिङ्गाको बथान हेर्नकै लागि यहाँ पर्यटक पुग्ने गर्दछ ।

    स्थानीय पर्यटन व्यवसायी परमानन्द भण्डारीले शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैंडा र चराचुरुरंगिका लागि प्रख्यात ठाउँ भएको बताए । उनले यहाँको घाँसे मैदानमा देखिने विभिन्न जीवजन्तु पर्यटकको रोजाइँमा पर्ने गरेको उनले जानकारी दिए ।

    ‘पर्यटनका लागि शुक्लाफाँटा सम्भावनाको खानी नै हो यसको प्रचार-प्रसार हुन सकेको छैन’, उनले भने, ‘विभिन्न प्रजातिका लोपोन्मुख चरा र बाघ र गैंडा पनि यहाँ देख्न सकिन्छ ।’ कञ्चनपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जंगबहादुर मल्लले बाह्रसिङ्गाको बथान हेर्नकै लागि पर्यटक शुक्लाफाँटा पुग्ने गरेको बताए ।

    ‘शुक्लाफाँटाको घाँसे मैदानमा देखिने बाह्रसिङ्गाको बथानले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छ’, उनले भने, ‘यसको प्रचार-प्रसार हुनसके यहाँ आउने पर्यटकको संख्या वृद्धि हुन्छ ।’

    शुक्लफाँटाको सुन्दरताबारे राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार गरे मात्रै यहाँको पर्यटन व्यवसाय फस्टाउने उनको भनाइ छ । यहाँको भीमदत्त नगरपालिकाले बाह्रसिङ्गाको प्रचारप्रसार गर्न बाह्रसिङ्गाको नगर भनेर घोषणा समेत गरेको छ ।

    शुक्लाफाँटामा रहेको घाँसे मैदान विश्वको सबै भन्दा ठूलो मैदान रहेको मानिन्छ । शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बर्कौला र घाासे फाँटमा पाटेबाघ देखिने महत्वपुर्ण ठाउँ हुन ।

    होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशप्रसाद भट्टले यहाँ पर्यटनको ठूलो सम्भावना रहेपनि प्रचारप्रसारको अभावले पर्यटक यहाँ आउन नसकेको बताए ।

    ‘समृद्धिको प्रमुख आधार भनेकै पर्यटन हो यसको प्रचारप्रसारमा सबैले लाग्नुपर्छ’,उनले भने, ‘शुक्लाफाँटामा रहेका तालतलैया र यहाँ देखिने जीवजन्तुले यहाँ आउने पर्यटकको मनै लोभ्याउने गरेको छ । शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि असासम्म हो । बसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रंगिविरंगि फुलले आगन्तुकलाई स्वर्गको आभास दिलाउछ ।’

    निकुञ्जभित्र ठुलो घाँसे मैदान संगै ठाँउ-ठाँउमा अन्य थुप्रै साना ठूला धेरै फाँटामा विभिन्न प्रजातीका चराचुरुङ्गी देख्न पाइन्छ । निकुञ्जको पूर्वी सेक्टरमा रहेको हीरापुर फाँटमा कृष्णसार संरक्षण गरिएको छ ।

    फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन । पर्यटकका लागि मचानबाट शुक्लाफाँटाको दृश्यावलोकन गराउने व्यवस्था गरिएको छ । शुक्लाफाँटाभित्र रहेको रानी ताल र अन्य स-साना तालमा प्रशस्तरूपमा गोही र चराचुरङ्गी देख्न पाइन्छ ।

    निकुञ्जको महाकाली नदी छेउ पिपरियामा हात्तीसार बाट हात्ती चढ्ने व्यवस्था छ । आगन्तुकको समय अनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ । पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् ।

    राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार २०७५ सालमा दुई सय ६६ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । २०७८ मा यहाँ आउने पर्यटकको संख्या बढेको छ । एक हजार ६ सय ५१ जना विदेशीले निकुञ्जको भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन् ।

    यस्तै २६ हजार तीन सय ८२ जना नेपालीले शुक्लाफाँट भ्रमण गरेका छन् । शुक्लाफाँट राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताए ।

    शुक्लाफाँटा निकुञ्ज भ्रमणको लागि सार्कमुलुकका नागरिकका लागि सात सय प्रवेश शुल्क लिने गरिएको छ भने विदेशीका लागि एक हजार ५ पाँच सय र नेपालीका लागि एक सय प्रवेश शुल्क राखिएको छ ।

    २०७३ साल फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकोरूपमा घोषणा गरिएको हो । २०१३ को गणना अनुसार वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् ।

    यस्तै २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातीका पुतली, ८०-९० वटा निलगाई र चार सय २४ प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भूडिफोर जस्ता पछी पनि छन्।

    स्तनधारी वन्यजन्तुमा ५३ भन्दा बढी प्रजाती रहेका छन् । जसमा पाटेबाघ, एकसिङ्घे गैंडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल छन् ।

    जंगली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तल, जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन । रानी ताल तथा अन्य स-साना तालमा मगर गोही प्रशस्त पाइन्छन् । रैथाने र बसाइँ सरी आउने गरी चार सय २४ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij