वेबटिभी खबर
कैलाली । कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम कायमै छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार असोज मसान्तसम्म जिल्लाका १३ स्थानीय पालिकामा अहिलेसम्म चार सय २३ डेंगुका बिरामी छन् ।
जसमध्ये धनगढी उपमहानगरपालिकामा एक सय ४१ डेंगुका बिरामी छन् । सबै भन्दा कम मोहन्याल गाउँपालिकामा तीन जना छन् । घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा चार/चार जना रहेका छन् ।
लम्किचुहा नगरपालिकामा एक सय १३, बर्दगोरिया गाउँपालिकामा ७२, टीकापुर नगरपालिकामा ४० र गोदावरी नगरपालिकामा २८ जना रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन मीनबहादुर धामीले जानकारी दिए ।
गौरीगंगा नगरपालिकामा ७, भजनी नगरपालिकामा ५, जोशीपुर गाउँपालिकामा ६ जना डेंगुका बिरामी छन् । कैलारी गाउँपालिका र चुरे गाउँपालिकामा अहिलेसम्म डेंगुका बिरामी शून्य रहेको जनाइएको छ ।
जिल्लामा डेंगुबाट उपचारका क्रममा दुई जनाको मुत्यु भइसकेको छ । धनगढी उपमहानगरपालिका-१२ की ३५ वर्षीया महिला गत भदौ १४ गते धनगढीस्थित निसर्ग अस्पतालमा र टीकापुर नगरपालिका-६ की १२ वर्षीया बालिकाको नेपालगञ्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा उल्लेखित छ ।
असोज महिनाको मसान्तमा अविरल पानी परेपछि पानी जम्ने सक्ने भाँडाकुँडा, प्लास्टिकका बोतल, गमला, गाडीका टायरलगायत अन्य पानी जम्मा हुने स्थानमा पानी जम्ने भएकोले यसको जोखिम कायमै रहेको बताइएको छ ।
कैलालीमा डेंगुको प्रकोप कायमै रहेकाले यसको जोखिम नियन्त्रण गर्न सबैको साझा दायित्व रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजविक्रम शाहीले बताए ।
सबैले आ-आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरीको सरसफाई गर्नु तथा पानी जम्न नदिनु नै डेंगु नियन्त्रणको उपाय रहेको उनले जानकारी दिए ।
डेंगु रोगका बिरामीमा उच्च ज्वरो आउनु, टाउँको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने गरेको छ । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउन चिकित्सकको सुझाव छ ।
डेंगु लामखुट्टको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो । यो एडिस एजप्टाई÷एलबोपिक्टस जातको संक्रमित लामखुट्टको टोकाइबाट मात्रै यो रोग सर्दछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij