Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नवौं राष्ट्रिय खेलकुद प्रतियाेगिता औपचारिकतामा सीमित

नवौं राष्ट्रिय खेलकुद प्रतियाेगिता औपचारिकतामा सीमित

  • 321
    SHARES
  • नवौं राष्ट्रिय खेलकुद प्रतियाेगिता औपचारिकतामा सीमित

    बाग्लुङ । कतिपय त्रुटी र अभावबीच बाग्लुङले नवाैं राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दो प्रतियोगितालाई सफल पार्‍याे । पहिलोपटक जिल्लामा भएको राष्ट्रिय खेलले जनसाधारणमा सोचेजति उत्साह भर्न नसकेपनि खेलाडीले भने सुखद् स्मरण लिएर फर्किए ।

    लगानी, पूर्वाधार र सही व्यवस्थापन नभए ठूला खेल प्रतियोगिता सञ्चानलमा आउने चुनौतीबारे पनि आयोजक/व्यवस्थापक यसपाली राम्रैसँग सचेत बने । कमीकमजोरीका बाबजुत सौहाद्र स्थितिमा खेल सकिनुले जिल्ला तहमा पनि राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भयो ।

    पूर्वाधार र समन्वयको कमी इत्यादि कारणले खेल सञ्चालन तथा व्यवस्थापनप्रति छिटपुट गुनासा उठेपनि आमरुपमा प्रतियोगिता सफल भएको आयोजकको दाबी छ । आइटिएफ नेपालका महासचिव अञ्जु रावतले बाग्लुङमा खेल पूर्वाधारको कमी औँल्याइन् ।

    ‘कभर्डहल अलि सानो भयो, खेलाडी मात्रै अटे, दर्शकले ढोकामा उभिएर खेल हेर्नुपर्ने स्थिति रह्यो’,उनले भनिन्, ‘राष्ट्रियस्तरका प्रतियोगिता खेलाउन व्यवस्थित खेल मैदान र कभर्डहलको खाँचो देखियो, खेलमा लगानी थप्न सरकार र सम्बन्धित निकायले पहल लिनुपर्छ ।’

    महासचिव रावतले कतिपय प्रतियोगितामा जाँदा खेलाडीले भोकभोकै हिँड्नुपरेको, होटलको खानाले बिरामी परेको, एकै विस्तारामा दुई/तीन जना सुत्नुपरेको जस्ता नमिठो विगतलाई बाग्लुङले बिसाईदिएको धारणा राखिन् ।

    प्रतियोगितामा स्वर्ण पदक विजेता विभागीय टिम नेपाल आर्मीकी सुस्मिता श्रेष्ठले खेलसँगै बाग्लुङका पर्यटकीयस्थको घुमघामले आफू रोमाञ्चित बनेको बताइन् । खेलाडीले प्रसिद्ध कालिका भगवती, विश्कै ‘लामो’ दाबी गरिएको बाग्लुङ–पर्वत जोड्ने झोलुङ्गे पुललगायतका ठाउँ घुम्ने मौका पाएका थिए ।

    आर्मीका प्रशिक्षक ज्ञानप्रसाद खत्रीले बाग्लुङ नगरपालिकाको आतिथ्यता र स्थानीय व्यवस्थापन प्रशंसायोग्य रहेको बताए । ठूला शहरमा जस्तो खेल पूर्वाधार बनाउन नसकेपनि जिल्लामा भएका खेल संरचनालाई व्यवस्थित र सुविधायुक्त बनाउनुपर्ने उनको सुझाव छ ।

    बाग्लुङ नगरपालिकाका प्रमुख एवम् आइटिएफ तेक्वान्दो प्रतियोगिता व्यवस्थापन आयोजना समितिका संयोजक वसन्तकुमार श्रेष्ठले पहिलोपल्ट जिल्लामा भएको राष्ट्रिय खेलकुद बृहत् र उत्साहपूर्ण ढंगले सम्पन्न भएको बताए । उनले खेल पूर्वाधार, खेलाडीको सेवासुविधा जस्ता विषयमा भने धेरै गर्न बाँकी रहेको उल्लेख गरे ।

    ७ प्रदेश र तीन विभागीय टिमका खेलाडीबीचको स्वस्थ खेल प्रतिस्पर्धाले बाग्लुङबाट एकता र भाइचाराको सन्देश देशैभर गएको नगरप्रमुख श्रेष्ठले बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले भने यत्रो प्रतियोगिता हुँदा आफूहरूलाई उपेक्षा गरिएको बताए ।

    आयोजक रोखपले एउटा पत्रसम्म समितिलाई नपठाएको उनको गुनासो छ । ‘हामीसँग कुनै समन्वय भएन, जिल्लामा क्रियाशील अरु खेल संघ र तिनका पदाधिकारीलाई उपेक्षा गरियो’, अध्यक्ष खड्काले भने ।

    खेलकुद विकास समितिले राखेपको आर्थिक सहयोगमा कभर्डहलमा रङ्गरोगन, वाइरिङ र ट्रस निर्माणका काममा सहजीकरण गरेको थियो । समितिले नै बाग्लुङ नगरपालिका–१ मा रहेको बाङ्गेचौर कभर्डहलमा प्रतियोगिता सञ्चालनका लागि पहल गरेको हो । लामो समयसम्म प्रतियोगिता कहाँ खेलाउने भन्नेमा विवाद थियो ।

    प्रतियोगिता अवधिमा प्रभावकारी सञ्चार समन्वय हुन नसकेकामा पनि टिप्पणी भएको छ । आयोजकले ‘मिडिया डेस्क’ नराख्दा समाचार सम्प्रेषणमा कठिनाई व्यहोर्नुपरेको दुःखेसो पत्रकारले गरेका थिए । ठूला खेल प्रतियोगिता हुँदा पत्रकारलाई अलग्गैस्थल तोकिएको हुन्छ । यसमा भने आयोजक र स्थानीय व्यवस्थापक चुकेका थिए ।

    शनिबारदेखि बुधबारसम्म चलेको प्रतियोगितामा १३ स्वर्ण पदकसहित विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको थियो । आठ रजत र तीन कास्यसमेत गरेर कूल २४ पदक हासिल गर्दै आर्मीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो ।

    यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी पहिलो बनेको थियो । प्रतियोगितामा छ स्वर्ण, तीन रजत र तीन कास्य जितेर बागमती प्रदेशले दोस्रो स्थान बनायो । तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कास्य पदक जित्यो । १ नं प्रदेशले तीन स्वर्ण, दुई रजत र पाँच कास्य पदक हात पार्‍याे । लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कास्य पायो ।

    सशत्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो । कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पार्‍याे । नेपाल पुलिसले चार कास्य पदक जित्दा मधेस प्रदेशले एउटा मात्र कास्य पदकमा सीमित भयो । सुदूरपश्चिम प्रदेशले कुनैपनि पदक जित्न सकेन ।

    प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पदक विजेता खेलाडीलाई २३ नं बाहिनी अड्डाका सहायक रथी रामप्रसाद अधिकारी, बाग्लुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायतले पदक र पुरस्कार प्रदान गरेकाे बाग्लुङ नगरपालिकाका उपप्रमुख एवम् आइटिएफ नेपालमा सचिव राजु खड्काले  बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij