Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नवौं राष्ट्रिय खेलकुद : अधुरो खैलमैदानले थप्यो चुनौती

नवौं राष्ट्रिय खेलकुद : अधुरो खैलमैदानले थप्यो चुनौती

  • 334
    SHARES
  • नवौं राष्ट्रिय खेलकुद : अधुरो खैलमैदानले थप्यो चुनौती

    म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा भएको दर्शकको उपस्थितिले बेनीको अधुरो खेलमैदानलाई पूर्णता दिने चुनौती सिर्जना गरेको छ ।

    असोज २८ देखि २ गतेसम्म सञ्चालन भएको महिला भलिबल खेलको प्रतिस्पर्धा अवलोकन गर्न आएका दर्शकका लागि व्यवस्था गरिएको प्यारापिट, कुर्चि र कार्पेट विछ्याइएको भुइँमा नअटाएपछि उभिएरै हेर्नुपरेको थियो । खेल अवलोकनका लागि अपेक्षा भन्दा बढी दर्शक आएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।

    ‘५ हजार दर्शक आउने अनुमान गरेर तयारी गरेका थियौँ,’ उनले भने, ‘फाइनलका दिन ९ हजार भन्दा बढी दर्शक आए । प्यारापिटको क्षमता बढाउन निर्माणाधीन खेलमैदानलाई पूर्णता दिनुपर्ने चुनौती थपिएको छ ।’

    खेलमैदानको बीचमा दुई वटा भलिबल कोर्ट बनाइएको थियो । बेनी नगरपालिकाले बनाएको प्यारापिटलाई रङग लगाइएको थियो । प्यारापिट र खेलस्थलको बीचमा एक लहर कार्पेट, त्यसपछि कुर्चि र कुर्चिपछि उभिने ठाउँ बनाइएको थियो । बस्ने ठाउँ नभएपछि घण्टौँ उभिएर खेल अवलोकन गर्न असहज भएको बेनपा–९ का चामबहादुर पुनले बताए । 

    ‘सबैले सहज रुपमा खेल अवलोकन गर्ने बनाउन प्यारापिटलाई पूर्णता दिनुपर्छ’, बेनीका लक्ष्मण शर्माले भने,‘दर्शकले घरको छत र रुखमा चढेर पनि खेल अवलोकन गर्नुपरेको थियो ।’

    तेक्वान्दो सञ्चालन भएको कालीपुलको कभर्डहलमा भने वत्ति र पङ्खा जडानका साथै रङगरोगन गरिएको थियो । कभर्डहलमा पनि दर्शकलाई खेल अवलोकन गर्न उभिनुपरेको थियो । कभर्डहलको मञ्चमा बोलेको आवाज नसुनिने अर्को समस्या थियो ।

    नवौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार बनाउन बजेट नआएको र भएका संरचनालाई व्यवस्थित गरेर खेल सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको भनाइ छ ।

    खेलमैदान निर्माण अधुरो

    कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन वि.सं. २०७४ मा रु ९ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।

    फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ ।

    त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ । कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो ।

    म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाइएको छ । पर्खालमाथि करिब ५० मिटर प्यारापिट बनेको छ ।

    कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्यारापिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ ।

    हाल ९/९ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिन्छ । प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ । हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ ।

    वि.सं.२०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो ।

    युवा तथा खेलकूद मन्त्रालयले वि.सं. २०७१ मा रु छ लाख ५० हजार र २०७३ मा रु ५९ लाख ६७ हजार विनियोजन गरेको थियो । वि.सं. २०७४ मा रु एक करोड र २०७५/७६ मा रु.६० लाख विनियोजन भएको थियो ।

    आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाले रु नौ लाख अर्थ मन्त्रालयले रु ५० लाख, खेलकूद मन्त्रालयले रु ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट रु ५० लाख विनियोजन भएको थियो ।

    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले खुल्लामञ्च खेलमैदान निर्माणका लागि चालू आर्थिक वर्षमा विनियोजन भएको रु ५० लाख बजेट कार्यान्वयन गर्न ठेक्का आह्वान गरिसकेको बताए  ।

    नवाैं  राष्ट्रिय खेल सञ्चालनका क्रममा बेनी आएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ र सदस्य राजेश गुरुङले खेलमैदान निर्माणलाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता जनाए ।

    पहिलो पटक राष्ट्रिय प्रतियोगिता 

    म्याग्दीको खेल इतिहासमा पहिलो पटक महिला भलिबल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता सञ्चालन भएको हो । दुई वटै खेलका लागि खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्री गरेर ६०० जना भन्दा बढी पाहुना आएका थिए ।

    आवास व्यवस्थापन होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घसँगको समन्वयमा भएको थियो । उद्घाटन समारोहमा विभिन्न जातजातिको वेषभूषा र कला संस्कृति सहितको झाँकी प्रर्दशन गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij