वेबटिभी खबर
काठमाडौं । २०७८ असोजमा देशभरका मालपोत कार्यालयले सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ बराबरको राजस्व संकलन गरेको थियो । घर जग्गाको कारोबार अपेक्षितरूपमा राम्रो थियो । सरकारले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य नै थियो ।
गत असोजमा भने दुई अर्ब ५६ करोड ९३ लाख ४८ हजार तीन सय ९३ बराबरको मात्रै राजस्व संकलन भएको छ । एक वर्षको अवधिमा झण्डै ७० प्रतिशतको दरले राजस्व संकलनमा गिरावट भएको हो । यसबाट घर जग्गाको कारोबारमा उल्लेख्यरूपमा गिरावट भएको देखिएको छ ।
देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७७ असोजमा पाँच अर्ब २७ करोड २० लाख ५३ हजार आठ सय तीन बराबरको राजस्व संकलन भएको थियो ।
पछिल्ला तीन वर्षको विवरण हेर्दा यस वर्षको असोजमा राजस्व संकलन मात्रै होइन कित्ताकाट र लिखत पारितसमेत उल्लेख्यरूपमा घटेको देखिन्छ । त्यसको पछाडि नेपाल राष्ट्र बैंकले घरजग्गामा जाने ऋणमाथि गरेको कडाई नै प्रमुख कारण रहेको यस क्षेत्रका जानकारको भनाइ छ ।
घर जग्गामा हुने ऋण लगानीलाई केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रकारूपमा घोषणा गरेको छ । काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत बराबर मात्रै ऋण उपलब्ध गराउने भन्ने व्यवस्था चालू आवको मौद्रिक नीतिमा गरिएको छ ।
विभागका अनुसार चालू आवको पहिलो महिना अर्थात् गत साउनमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७३ करोड ७२ लाख ४१ हजार बराबर राजस्व संकलन भएको थियो ।
यस्तै गत भदौमा तीन अर्ब ५६ करोड २९ लाख तीन हजार नौ सय बराबरको राजस्व संकलन भएको थियो । विभागका अनुसार गत असोजमा मात्रै २७ हजार आठ सय ५० वटा घर जग्गाको कारोबार भएको छ ।
भदौमा एक लाख आठ हजार आठ सय ८१ वटा कारोबार भएको थियो । साउनमा भने कूल ९८ हजार ६४ वटा कारोबार भएका थिए । कारोबारको मात्रामा समेत गिरावट आएको विभागको विवरणमा देखिन्छ ।
भू-उपयोग नीतिअनुसार स्थानीय तहले जग्गाको वर्गीकरण गर्न समय लागेकाले पनि नापी तथा मालपोत कार्यालयमा अपेक्षा गरेअनुसारको घरजग्गाको कारोबार हुन नसकेको बताइन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij