वेबटिभी खबर
काठमाडौं । शरद ऋतु पदयात्रा र दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ । मनसुन सकिएपछिको सफा मौसम अनि खुलेको आकाश । निलो आकाशमुनि चाँदीका घेरा झैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यले जो कोहीलाई लोभ्याउँछ ।
अनुपम प्राकृतिक सुन्दरता भूधरातलीय स्वरुपको आकर्षणले स्वदेशी तथा विदेशीलाई मोहित तुल्याउँछ । पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ का लागि अहिले उपयुक्त मौसम पनि हो ।
यो सिजनमा पर्वतीय उडान बढी हुन्छ । पर्यटकीय सिजन चलिरहेको र मौसमले पनि साथ दिएकाले अहिले पर्वतीय उडान उत्साहरूपमा चलिरहेको एयरलाइन्सले जनाएका छन्।निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयरलगायतले पर्वतीय उडान गर्दै आएका छन् ।
मौसमले साथ दिएकाले पर्वतीय उडान उत्साहरूपमा चलिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । ‘पर्वतीय उडान ह्वात्तै बढेको छ, तिहारसम्मका लागि राम्रो बुकिङ आइरहेको छ, योक्रम बढ्ने विश्वासमा छौं’, उनले भने ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले यो सिजनमा पर्वतीय उडानमा आकर्षण बढेको बताए । उनले भने, ‘मौसम खुलेसँगै पर्वतीय उडान राम्रो भएको छ । यो सिजनमा धेरै विदेशी घुम्न आउने र जाडो मौसममा बादल कम हुने र निलो आकाशमुनि हिमशृङ्खला राम्रोसँग देखिने भएकाले पर्वतीय उडानमा आकर्षण बढ्छ ।’
बुद्ध एयरले आज मात्रै चार वटा पर्वतीय उडान गरेको छ । अघिल्लो शनिबार आठ उडान गरेको थियो । यती एयरलाइन्सले दैनिक दुईभन्दा बढी उडान गरिरहेको छ । पर्वतीय उडान हरेक दिन हुन्छ ।
अक्टोबर, नोभेम्बर र डिसेम्भर महिनाका लागि उपयुक्त मौसम हो । बादल खुलेकाले हिमाल स्पष्टरुपमा देख्न सकिन्छ । मौसम खुलेर हिमालमा बादलुको घुम्टो उघ्रिएपछि मनोरम दृश्यले पर्यटकलाई लालायित तुल्याउँछ ।
हिमाल स्पष्ट देखिने र यो सिजनमा धेरै संख्यामा विदेशी घुम्न आउने भएकाले पनि एयरलाइन्स, होटल र पदयात्राको विजनेश राम्रो भएको छ । पर्यटकीय सिजनमा अहिले गन्तव्य आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ रहेको होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।
उनले भने, ‘यो सिजनमा आन्तरिक पर्यटन एकदमै राम्रो छ, अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।’ सगरमाथासहितका आकर्षक एवम् मनोरम हिमशृङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ ।
पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायित हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ ।
सगरमाथासहितका अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न पर्यटक औधी रुचाउँछन् । शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्यावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको हो । पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
विदेशी पर्यटक पनि उल्लेख्य संख्यामा गन्तव्यमा गएका छन् । प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय उडानमा पछिल्ला वर्षमा नेपाली हिमाल अवलोकन गर्न औधि रुचाएका छन्।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुन्छ । विमानस्थलबाट सुरु हुने यो उडानमा सरगरमाथा, मकालु, नुप्से, गौरीशंकरलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ ।
अझ पदयात्रा जान नसक्नेका लागि यो गज्जबको अफर भएको व्यवसायी बताउँछन् । बुद्ध एयरले पर्वतीय उडानका लागि १५ हजार भाडा तोकेको छ । यो मूल्य नेपाली र भारतीयलाई हो ।
अन्य मुलुकका विदेशी नागरिकलाई दुई सय ३० अमेरिकी डलर कायम गरिएको छ । यती एयरलाइन्सले पनि १५ हजारमा पर्वतीय उडान गर्दै आएको छ । अहिले एयरलाइन्सले यात्रुको मागबमोजिम दैनिक पर्वतीय उडान सञ्चालन गर्दै आएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार अहिले मौसमले पनि साथ दिएकाले पर्वतीय उडानमा आकर्षण बढेको छ । पर्वतीय उडान दैनिकरूपमा सञ्चालन हुँदै आएको छ ।
यो विमानस्थल भएर अहिले ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् । दैनिक दुईतर्फ सरदर १८० उडानमार्फत झण्डै १३ हजार यात्रु आवतजावत गरिरहेको विमानस्थलले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij