वेबटिभी खबर
कास्की । कर्णाली प्रदेशको पुरुष हक्की टोलीका लागि नवौंं राष्ट्रिय खेलकुद अवसर र सिकाइका लागि राम्रो माध्यम बन्यो । हुम्लाको सिमिकोट-५ का युवा मिलेर बनाएको टोलीले पछिल्ला केही वर्ष प्रतियोगिता खेल्न पाएको थिएन् ।
नवौंमा एउटै वडाबाट सिंगो कर्णाली प्रदेशको प्रतिनिधित्व गरेर आएको टोली सेमिफाइनलसम्म पुग्यो । पोखरामा गत असोज २८ देखि यही कात्तिक ३ गतेसम्म भएको राष्ट्रिय खेलकुदले टोलीका लागि राम्रो अवसर प्रदान गरेको कप्तान रामजन रावतले बताए ।
‘हुम्लाबाट कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सोच थियो, तर टोली कस्तो बनेको छ भन्ने थाहा थिएन्’, उनले भने, ‘पोखरा आएर खेलेपछि हामी पनि सक्षम छौंं भन्ने थाहा भयो ।’ कर्णालीको पुरुष हक्की टोली जस्तै धेरैले कोरोनापछि खेल्ने मौका पाए ।
व्यवस्थापकीय कमजोरी हुँदाहुँदै राष्ट्रिय खेलकुदमा थुप्रै कीर्तिमान बने । पौडीकी डुवाना लामा, एथ्लेटिक्सकी जयरानी थारू र शिवराज पार्की, जिम्न्यास्टिकका राजु राई, भारोत्तोलनकी तारादेवी पुन, उसुकी एलिना चौधरी र सुस्मिता तामाङ, स्क्वासका अमृत थापा मगरलगायत खेलाडी चम्किए ।
नवौं राष्ट्रिय खेलकुदले अन्तर्राष्ट्रिय स्पर्धामा गतिलो परिणाम दिन सक्ने खेलाडी जन्माएको छ । पौडीकी गौरिका सिंह नवौंमा आफ्ना प्रतिस्पर्धी खेलाडी बढेको बताउछिन् ।
पौडीमा नेपाली खेलाडीको रुचि बढिरहेको अवस्थामा प्रतियोगिता आयोजना भएकामा उनी खुसी छिन् । यसले पौडीमा धेरै खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाएको उनको भनाइ थियो ।
‘डुवाना, एलेक्स, नासिर सबैले राम्रो खेलिरहनुभएको छ’, उनले भनिन्, ‘यसरी नै प्रतियोगिता भइरहेमा एसियाली तथा ओलम्पिक प्रतियोगितामा पनि पदक जित्न सहज हुन्छ ।’
पोखरामा राष्ट्रिय खेलकुद हुँदा पोखरावासी अन्तरआत्मादेखि नै खुसी भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यको भनाइ छ । ‘सानातिना कमजोरी जहाँ पनि हुन्छन्’, उनले भनिन्, ‘काम गर्दा नै कमजोरी हुने हो । ठूलै गल्ती केही भएन भन्नुपर्छ । अब कर्णालीमा हुने राष्ट्रिय खेलकुदका लागि यो एउटा सिकाइ हो ।’
गुनासा, चुनौती र सीमितताका बाबजुद राष्ट्रिय खेलकुदले गण्डकी प्रदेशका जनतालाई खुसी बाँड्न सफल भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवम् गण्डकी प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य सचिव तेजबहादुर गुरुङले बताए ।
‘२०३८ देखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विभागीय टोली बाहेक प्रदेशमध्ये पहिलो पटक हामी पहिलो हुन सफल भएका छौंं,’ उनले भने, ‘गण्डकीले इतिहास बनाएको छ ।’
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्यसहित च्याम्पियन बन्यो । सशस्त्र प्रहरी बलको एपिएफ क्लब ६५ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब ६१ स्वर्ण जित्दै तेस्रो बन्यो ।
चौथा बनेको घरेलु टोली गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित एक सय २० पदक हात पार्यो । प्रतियोगितामा बागमती प्रदेश पाँचौं, प्रदेश १ छैटौं, सुदूरपश्चिम सातौं, एनआरएनए आठौं, लुम्बिनी प्रदेश नवौं, मधेश प्रदेश दशौं र कर्णाली प्रदेश एघारौं स्थानमा रहे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij