Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

उन्नत जातको मकैबाट राम्रो आम्दानी गर्दै किसान

उन्नत जातको मकैबाट राम्रो आम्दानी गर्दै किसान

  • 356
    SHARES
  • उन्नत जातको मकैबाट राम्रो आम्दानी गर्दै किसान

    बाग्लुङ । बाग्लुङको बडिगाड-१ की जमुना श्रीषले १० रोपनी बारीमा उन्नत जातको मकै लाउने गरेकी छिन् । उनको यस वर्ष घरमा खान पुगेर दुइचार क्विन्टल मकै बचाउँने योजना छ ।

    यहाँका गनबहादुर सुनारले चार हलको मेलोमा मकै लगाउन थालेको बताए । मनकामना जातको मकैबाट यो वर्ष खान पुगेर तीनचार मुरी संकलन केन्द्रमा पठाउने लक्ष्य रहेको उनले सुनाए ।

    दगातुम्डाँडा कृषि सहकारी संस्थामार्फत किसानलाई उन्नत बीउ वितरण भएको थियो । उक्त बीउबाट उत्पादित मकै सहकारीमार्फत बेचेर किसानलाई आम्दानी दिने योजना रहेको सहकारीका अध्यक्ष भीमसेन वनले जानकारी दिए ।

    यसरी जोगाएको मकै गाउँमा बनेको भण्डारन केन्द्रमा संकलन गर्न थालिएको छ । भण्डारन केन्द्रमा राखेर बजार पठाउने गरी यो वर्ष यहाँ भवन बनेको छ । मकै बजारमा बीउको रूपमा बिक्री गर्ने लक्ष्यले भवन निर्माण बनाइएको हो ।

    किसानले नगदै संकलन गरेर छ लाख पुर्‍याएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ३० लाख लगानी गरेको हो । स्थानीयले खोजेको दुई रोपनी दुई आना जमिनमा परियोजनाको ३० लाख बजेट विनियोजन भएपछि भन्डारन केन्द्र बनाइएको वनले बताए ।

    उक्त भण्डारन केन्द्रमा २२ टन मकैको बीउ सुरक्षित गर्न सकिने व्यवस्था छ । दगातुम्डाँडा कृषि सहकारी संस्थाका दुई सय बढी किसानले व्यावसायिकरूपमा मकैखेती गर्दै आएका छन् ।

    सामूहिक भण्डारन गर्ने, बीउ लगाउने र बेच्ने योजनासमेत बनाएपछि भवन ठडिएको सहकारीका सदस्य रेमबहादुर भुजेलले बताए । ‘भवन आधुनिक र मुसाबाट बचाउने गरी बनेको छ, त्यसैले यो वर्ष मकै जोगिने भयो’, भुजेलले भने, ‘अर्को वर्ष दोब्बर उत्पादनसमेत गर्ने योजना छ ।’

    किसानले मनकामना तीन जातको मकै लगाएका छन् । यो वडा समुद्री सतहदेखि एक हजार दुई सयदेखि दुई हजार मिटरसम्मको उचाइमा छ । त्यसैले मकैको उत्पादन अत्यधिक हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।

    भवनसँगै यहाँ कृषिउपज बिक्री केन्द्र पनि बनाइएको छ । गाउँपालिका, ज्ञानकेन्द्र र स्थानीयको श्रमदानसमेत गरी १५ लाखको लागतमा बिक्री केन्द्र बनेको हो । यो केन्द्रबाट स्थानीयरुपमा बिक्री गर्ने र धेरै उत्पादन हुँदा अर्डरअनुसार ढुवानी गरेर पठाउने योजना वनले बताए ।

    उत्पादन बढाउन यो वर्षदेखि यहाँका किसानले देउती र शीतला जातको मकै पनि ल्याएका छन् । दगा, तुम्डाँडा, गहते, सिमलचौरलगायतका बस्तीमा पनि मकै खेती विस्तार गरिएको छ । गत वर्ष गलकोट नगरपालिकाले खरिद गर्न विनियोजन गरेको बजेट बीउ नपाएर फ्रिज भएपछि यहाँका किसानले मकै संरक्षण थालेका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij