Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा

अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा

  • 325
    SHARES
  • अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा

    जुम्ला । पहिरोका कारण २० दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

    गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिरोका कारण अवरूद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो ।

    राजमार्ग कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड हो । राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका लागि राहत पाएका छन् ।

    बाढीपहिरोका कारण राजमार्गको करिब ४० किलोमिटर सडक अवरूद्ध भएको थियो । जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखोला-जुम्लासम्मको एक सय चार किलोमिटरमध्ये ४० किमी सडक पहिरोका कारण पूर्णरूपमा अवरूद्ध भएको थियो ।

    अवरूद्ध सडक सञ्चालनका लागि सडक डिभिजन जुम्ला र नेपाली सेना निरन्तर खटेको थियो । सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले अवरूद्ध सडक खुलाउन कार्यालयका एक सयभन्दा बढी जनशक्ति खटिएको बताए ।

    नन्दाबक्स गण जुम्लाको ५० जना टोली राँचुलीमा क्याम्पमै बसेर सडक खुलाउनमा लागिपरेका थिए । ‘अपेक्षाभन्दा छिटो सडक खुलाउन सफल भयौं, यसले तिहारको समयमा कर्णालीवासीलाई राहत भएको छ’, प्रमुख श्रेष्ठले भने ।

    कर्णालीवासीलाई छिटो राहत दिन र सडक खुलाउन कार्यक्षेत्रभन्दा बाहिर कालिकोटमा क्याम्प बस्ने गरी नेपाली सेना पठाएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij