Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

‘शिक्षण पेसाले खुसी दिन सकेन अनि फूल खेतीमा लागें’

‘शिक्षण पेसाले खुसी दिन सकेन अनि फूल खेतीमा लागें’

  • 900
    SHARES
  • ‘शिक्षण पेसाले खुसी दिन सकेन अनि फूल खेतीमा लागें’

    चितवन । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरूपमा सयपत्री फूलखेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो ।

    images

    गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट राम्रो आम्दानी भएपछि उनले अहिले चार बिघामा फूल रोपेका छन् । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने,‘गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो ।’

    कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उनले बताए । तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ । जसबाट रू ६ लाखभन्दा माथि आम्दानी हुने उनले बताए । पाख्रिनले १८ वर्षदेखि व्यवसायीकरूपमा सयपत्री फूलको उत्पादन गर्दै आएका छन् ।

    चितवनमा यो पेसा गरेका पाख्रिनले पाँच वर्ष भयो । धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरूवात गरेका थिए । यसका लागि उनले शिक्षण पेसासमेत छोडे । २० वर्ष अगाडि उनले काठमाडौंको लगनखेल स्थित बालविद्या गृहमा इतिहास र भूगोल विषय पढाउँथे । मानविकी संकायमा स्नातक गरेका पाख्रिनले कक्षा १० सम्मका विद्यार्थीलाई अध्यापन गराउथे । तर उनलाई शिक्षण पेसाले आत्मसन्तुष्टि भने दिन सकेन ।

    उनी भन्छन्, ‘फूलसँग रमाउने मेरो रूचि हो । सानैदेखि फूलप्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरूवाले भरिभराउ हुन्थ्यो तर यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरे यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छोडेँ ।’

    यसपछि पनि पाख्रिनले फूल खेतीमा व्यावसायिक रूपमा लाग्ने सोचेका थिएनन् । उनले ६ वर्ष क्रिष्टल इन्स्टिच्युट कमलपोखरी काठमाडौंमा फोटो सम्बन्धि पढे । यसले पनि उनको तिर्खा मेट्न सकेन । अन्ततः दुईवटा काम छोडेपछि पाख्रिनले आफूलाई चाहेको गन्तव्य पहिल्याए  । पुष्प किसान बन्ने निधो गरे  । यो व्यवसाय गर्नका लागि उनलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरूका दुई छोरी र दुई छोरा छन् ।

    फूलको माग पुर्‍याउन धौधौ

    पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बनेका छन् । ‘फूल खेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । १० हजार माला मात्र बेचे मुनाफा रू दुई लाख हुन्छ । चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्‍याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन’, उनले भने ।

    बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरूपमा पुष्पखेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ ।  

    रोजगारीको राम्रो अवसर

    ६२ वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसकेका छन् । जो अहिले व्यावसायिकरूपमा फूलखेती गरिरहेका छन् । पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन् । मौसमी रोजगारी धेरैले पाउने गरेको कामदार बताउँछन् । जसले खाली समय उपयोगसँगै आर्थिकरूपमा सबल बनाउन सहयोग पुगेको भीममाया रानामगर बताउँछिन् ।

    स्थानीय सीता सुवेदी भने उद्योग व्यवसाय धेरै भए मौसमी बेरोजगार बन्नुनपर्ने बताउँछिन् । तीन महिनादेखि पाख्रिनको फूल बारीमा काम गर्दै आएकी सुवेदीले अन्यबेला खाली बस्नुपर्ने गुनासो गरिन् ।

    फ्लोरी कल्चर एशोसिएशन चितवनका अनुसार जिल्लामा अहिले ३५ देखि ४० बिघामा सयपत्री फूलखेती गरिएको छ । यसले जिल्लाको ८० प्रतिशत माग पूरा गर्ने फ्लोरी कल्चर एशोसिएशनका कोषाध्यक्ष सुलभ श्रेष्ठले जानकारी दिए ।

    मखमली फूल भने कमै लगाइएको छ । जिल्लामा १२ जना व्यावसायिकरूपमा फूलखेती गर्दै आएका छन् । तिहार लक्षित पुष्पखेती गर्ने किसान गरी एक सय बढी रहेको श्रेष्ठको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology