काठमाडौं । आख्यानकार रमेश विकलको ९४औं जन्मजयन्तीका अवसरमा आरुवारीचोकस्थित उनको सालिकमा माल्यार्पण गरिएको छ ।
विकल जयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव हेमनाथ पौडेललगायतले सालिकमा माल्यार्पण गरे । सो अवसरमा प्रतिष्ठानको कार्यालय परिसरमा रहेको विकलको सालिकमा पनि माल्यार्पण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रिसाल, ललितकला प्रतिष्ठानका कुलपति कर्माचार्य, प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव पौडेल, विकल प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, महासचिव विजय चालिसे, अरुणिमा विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेलगायतले विकलले नेपाली आख्यान, चित्रकला र समाजसेवा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । सो अवसरमा अभिनव साहित्य समाजले आयोजना गरेको स्थलगत कविता लेखन प्रतियोगिता र नव अरुणिमा विद्यालयले आयोजना गरेको स्थलगत चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
सामाजिक यथार्थवादी आख्यानकार विकलको जन्म वि.सं. १९८५ कात्तिक २९ गते भाइटीकाका दिन भएको थियो । वि.सं. २००६ मा शारदा मासिकमा गरिब कथा प्रकाशनपछि उनी नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेका हुन् । साहित्यकार विकलले ‘नयाँ सडकको गीत’ कथा सङ्ग्रहका लागि २०१९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए । वि.सं. २०६५ पुस २ गते विकलको निधन भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology