Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार

अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार

  • 572
    SHARES
  • अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार

    काठमाडाैं । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ ।

    images

    यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उम्मेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो पिँढीका आप्रवासीका लागि संघर्षका अनेक कथा जोडिएका हुन्छन् ।

    कडा परिश्रमको उपमा पाएका नेपाली अमेरिकीको हकमा भने पहिलो पिँढीका दर्जनभन्दा बढी अमेरिकाको विभिन्न एकाइको निर्वाचनमा होमिएका छन् । यस पटकको निर्वाचनको मिति आगामी नोभेम्बर ८ आउन अब केबल दुई साताभन्दा कम समय बाँकी छ । उक्त निर्वाचनमा नेपाली मूलका दुईजना प्रतिस्पर्धामा रहेका छन् ।

    प्रतिस्पर्धा गर्नेमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुनका लागि निर्वाचनमा होमिएका डा.ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको लागि सहना श्रेष्ठ छिन् ।

    भण्डारी र श्रेष्ठले गत जुलाईमा भएको आन्तरिक पार्टी प्रतिस्पर्धा अर्थात प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्रयाट पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बनेका हुन् । सहनाले त २३ वर्षदेखि सोही पार्टीका बहालवाला डेलिगेटलाई हराएर प्राइमेरी निर्वाचनमा जीत हासिल गरेर एउटा अलग्गै इतिहास रच्न सफल भएकी छिन् ।

    सन् २००१ मा अध्ययनको लागि अमेरिका आएकी सहनाको राजनीतिक यात्रा रोचक छ । उनले सन् २०१९ मा मात्र अमेरिकाको नागरिकता लिएका थिइन्स न् २०२१ मा उम्मेदवारी दिएर २०२२ को जुनमा प्राइमेरी निर्वाचनमार्फत जीत हासिल गरेसँगै उनी डेमोक्रयाट पार्टीको तर्फबाट आगामी नोभेम्बर ८ तारिखको लागि निर्वाचनमा होमिएकी हुन् ।

    भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी हुन् । उनले सन् २०१८ मा भएको निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फबाट निर्वाचित भएर एउटा अलग्गै इतिहास बनाएका थिए ।

    भण्डारी मेरिल्याण्डको जनरल एसेम्बलीमा आफ्नाे चार वर्षे कार्यकालको अनुभवसहित निर्वाचनमा बहालवाला सांसदको हैसियतले चुनावी मैदानमा छन् । सन् २०२० को जनगणनापश्चात गरिएको निर्वाचन क्षेत्र हेरफेरको कारणले चुनौती थपिएको उनको भनाइ छ ।

    उनको निर्वाचन क्षेत्र पर्पल डिष्ट्रिक अर्थात डेमोक्रयाट र रिपब्लिकन पार्टी दुबैले जीत हासिल गर्न सक्ने सचेत मतदाताको बाहुल्यता भएको क्षेत्र हो । यसले गर्दा मतदाताले उम्मेदवारको कार्ययोजना र कार्यशैलीलाई हेरेर मतदान गर्नेछन् ।

    भण्डारी आफ्नाे निर्वाचन क्षेत्रमा आफ्नाे कार्य योजनासहितका विवरण र विगतमा आफूले गरेको कामको फेहरिस्त लिएर मतदाताको घरदैलामा पुग्ने गरेका छन् । उनले सन् २०१८ मा व्यक्त गरेको प्रतिबद्धताअनुसार स्थानीय विद्यालयमा विद्यार्थीको चाप बढी भएको नागरिकको गुनासोलाई सम्बोधन गर्दै आफ्नाे क्षेत्रमा थप तीन विद्यालय स्थापना गरेका थिए ।

    यसले उनको लागि सकारात्मक वातावरण निर्माण भएको छ । उनको क्षेत्र-३ जनाले प्रतिनिधित्व गरिरहेका छन् । भण्डारीले भने,  ‘मैले मेरो क्षेत्रका मतदातासँग गरेको प्रतिबद्धताअनुसार शिक्षा क्षेत्रमा पर्याप्त बजेट ल्याउन सफल भएको छु ।’

    करिब ४ करोड ७० लाख डलर रकम बराबरका विद्यालयहरू मेरो क्षेत्रमा निर्माणाधीन रहेका छन् । मेरिल्याण्ड राज्यको जनरल एसेम्बलीमा हेल्थ एण्ड सरकार सञ्चालन कमिटिमा बसेर काम गरेका भण्डारी आफ्नाे ४ वर्षे कार्यकालको अनुभवले धेरै कुरा सिकाएको बताउँछन् ।

    उनले भने, ‘एउटा सार्वजनिक पदधारण गरेको नाताले र निर्वाचित जनप्रतिनिधि भएको नाताले हेल्थ केयरका कतिपय विषयमा हामी मिलेर धेरै काम गर्यौं । यसले मेरिल्याण्ड राज्यलाई महामारी व्यवस्थापनमा अब्बल सावित गराउन सफल पनि भयो । महामारीको बेलामा गभर्नरको कार्यालय र हाउस मिलेर नागरिकका समस्या सम्बोधन गर्न र महामारीको समयमा धेरै काम ग्यौं ।’

    उक्त समितिमा वसेर लंग टर्म केयर, जेष्ठ नागरिकको लागि स्वास्थ्य सेवाको पहुँच जस्ता धेरै विषय समेटिएका १४ वटा विधयेक पास गराउन सकेकामा आफ्नाे कार्यकाल सफल भएको भण्डारीकाे दाबी छ ।

    नेपाली समुदायका लागि पनि धेरै काम गरेकाे बताउँदै उनले कोरोनाको महामारीको बेलामा कतिपय स्थानमा मृत्युवरण गरेका नेपालीको अन्तिम संस्कार गर्नको लागि आफैँ उपस्थित भएको बताए । 

    दिवंगत नेपालीको शव व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरेका भण्डारीले कोरोना महामारीको बीचमा १ हजार ५०० नेपालीको वेरोजगार फर्म भर्नसमेत कार्यालयमार्फत काम गरेका थिए ।

    भण्डारी अझै पनि नेपाली समुदाय अमेरिकामा देखिने र सुनिने समुदायको रूपमा नआएको भन्दै राजनीतिक सामाजिक एकीकरणको पक्षमा आफूले समन्वय गर्न सकेको बताउँछन् ।

    उनले नेपाली अमेरिकीको सहभागितामा सञ्चालित दुई सामुदायिक भवनको पुर्नसंरचना गर्न र सर्भिसेज रूमहरूको निर्माणको लागि भनेर ५ लाख ५० हजार डलर बराबरको रकम लेजिष्लेटिभ वण्डमार्फत राज्य सरकारको कोषबाट रकम उपलब्ध गराएका छन् ।

    सन् २००८ मा तत्कालीन राष्ट्रपतिका उम्मेदवार वाराक ओवामाको चुनावी अभियानमा स्वयंसेवक बनेका भण्डारीले यो १४ वर्षको बीचमा धेरै कुरामा पहुँच राख्न सकेका छन् । मेरिल्याण्ड राज्यको शिक्षा क्षेत्रमा कार्यरत रहेका भण्डारी अपरान्ह ३ बजेसम्म कक्षा कोठामा नै विद्यार्थीलाई अध्यापन गराउने गर्छन् ।

    उनले भने, ‘मैले आफ्नाे पेशालाई पनि निरन्तरता दिइरहेको छु र चुनावी अभियान पनि टीममार्फत व्यवस्थित तरिकाले सञ्चालन गरिरहेको छु ।’ उनले यसपटक जीत हासिल गरेको खण्डमा दोस्रो कार्यकाल अमेरिकाको मूलधारको राजनीतिमा विजय हुने उनी एक मात्र व्यक्ति हुने छन् ।

    उता सहना श्रेष्ठले न्यूयोर्कको १०३ नम्बरको डिष्ट्रिकमा डेमोक्रयाट पार्टीको विगत दुई दशकदेखि प्रतिनिधित्व गर्दे आएका वहालवाला सांसदलाई प्राइमेरी निर्वाचनमा पराजय गरेकी छिन् । उनको पहिलो पटकको राजनीतिक यात्राले नै नयाँ उचाई हासिल गर्न सकेको छ ।

    पर्यावरणको क्षेत्रमा काम गर्ने श्रेष्ठले आफ्नाे चुनावी अभियानमा कुनै पनि कर्पोरेट कम्पनीबाट चन्दा नलिने उद्घोष गरेकी छिन् । उनी ऊर्जाको दर कम र शतप्रतिशत नवीकरणीय ऊर्जा भन्ने नाराका साथ चुनावी अभियानमा होमिएका छिन् ।

    उनले भनिन्, ‘यो न्यूयोर्कको सेन्ट्रल हडसन क्षेत्रका नागरिकले चर्को दरको विद्युत् उपयोग गर्नु परेको छ । यसलाई मैले मुख्य मुद्दा बनाएको छु । मेरो सोच भनेको विद्युत् सेवा प्रदायकहरू निजी क्षेत्रबाट सरकारी क्षेत्रमा लानुपर्छ भन्ने हो । यसको लागि कतिपय विलहरू बनाउनुपर्ने हुन्छ, यसमा सामूहिक सहकार्यबाट मात्र सम्भव रहन्छ ।’

    उनको चुनावी अभियानमा युनिभर्सल हेल्थ केयर जसमा मानसिक स्वास्थ्य, दीर्घकालीन हेरविचार र प्रजनन हेरचाहलगायतका विषय समावेश गरिएको छ । उनलाई अमेरिकाको राजनीतिमा प्रगतिशील एजेण्डाका साथ उदाएकी कंग्रेस सदस्य अलेक्ज्याड्रिय कोर्टेजले सहयोग गरेकी छिन् ।

    उनीलगायत न्यूयोर्क राज्यका चार एसेम्बली सदस्य र दुई स्टेट सिनेटरले पनि श्रेष्ठलाई समर्थन गरेकाले उनको विजयलाई बल पुगेकाे छ । सन् २००१ मा कम्युटर ग्राफिक्स अध्ययन गर्न अमेरिका आएकी सहनाले २०१९ मा अमेरिकाको नागरिकता लिएकी हुन् ।

    उनले भनिन्, ‘मैले उम्मेदवार हुने सोच बनाएको एक वर्ष भयो । यहाँको समुदायले गरेको सहयोगको कारण मैले प्राइमरी निर्वाचनमा सफलता हासिल गर्न सकेको हुँ ।’ उनी आफ्ना पतिसहित न्यूयोर्कको हडसन भ्यालीमा बस्दै आएकी छिन् ।

    उनी उल्सटर काउन्टीको मीड हडसन भ्याली च्याप्टरको डेमोक्रयाटिक सोसलिष्टस अफ अमेरिको सहअध्यक्ष समेत हुन् । उनले भनिन्,‘यसले नै मलाई राजनीतिक यात्रामा योगदान दिएको हो ।’ यस पटकको निर्वाचनमा दुईजना मात्र चुनावी मैदानमा भएपनि विगत वर्षहरूमा अनेकन राज्यहरूमा नेपालीहरूले उम्मेदवारी दिँदै आएका छन् ।

    तर अहिलेसम्म संघीय सरकारमा प्रतिनिधित्व गर्ने गरि कसैले विजय हासिल गर्न भने सकेका छैनन् । यसरी अमेरिकाको राजनीतिमा होमिनेहरू दर्शन रौनियारले सन् २०१२ मा वाशिंगटन स्टेटको कंग्रेसनल डिष्ट्रिक १ बाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । तर उनले प्राईमेरी निर्वाचनमा नै पराजय भोग्नु परेको थियो ।

    यसैगरी टेक्सास राज्यको हाउस अफ रिप्रिजेन्टेटिभमा डिष्ट्रिक ९२ बाट उम्मेदवार बनेका दिनेश शर्माले पनि यस पटकको प्राईमेरी निर्वाचनमा पराजयको सामना गर्नुपरेको छ । नेपाली अमेरिकन मतदाताहरूको राम्रो मत भएको स्थानमा पनि शर्माले जीत हासिल गर्न सकेनन् ।

    राज्य तहको निर्वाचन वाहेक स्थानीय तहको निर्वाचनमा भने नेपालीले जीत हासिल गरेका छन् । भर्जिनियाको हरडनको काउन्सिल मेनको रूपमा प्रदीप ढकाल कार्यरत छन् । यसैगरी मेरिल्याण्ड राज्यको ईण्डियाना हेड सिटीको भाइस मेयरको रूपमा किरण सिटौलाले काम गरिरहेका छन् ।

    उता कनेक्टिकट राज्यको वेडफर्डमा काउन्सिल मेनको रूपमा राम श्रेष्ठले काम गरिरहेका छन् । यसैगरी टेक्सासमा रहेको युलेस सिटीको काउन्सिल सदस्यको रूपमा टीका पौडेलले गत वर्ष भएको निर्वाचनमा विजयी हासिल गरेकी थिइन् ।

    यस्तै ओहायो राज्यमा भुवन प्याकुरेल काउन्सिल सदस्यको रूपमा काम गरेका छन् । प्याकुरेल आप्रवासन पुनर्स्थापना अन्तर्गत अमेरिका आइपुगेका हुन् । उनले ओहायो राज्यमा सिटी काउन्सिलमा विजय हासिल गरेका छन् । प्याकुरेल नेपाली भाषीको सेवामा आफूले काम गरेको बताउँछन् ।

    टेक्सासमा मोहन ज्ञवालीले सिटी काउन्सिल सदस्यमा उम्मेदवारी दिएका थियो तर उनले पनि पराजयको सामना गर्नुपर्यो । अमेरिकामा रहेका नेपालीहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा राजनीतिमा होमिएका छन् ।

    यसले गर्दा यहाँको मूलधारको राजनीतिमा नेपालीहरूको सहभागिता वृद्धि भएको छ । सन् २०१८ को हयारीको निर्वाचनमा विजयी गराउन नेपालीहरूको फर्सिको मुन्टाको डिप्लोमेशीले काम गरेको थियो ।

    यस अन्तर्गत नेपाली अमेरिकनहरूले आफ्नो घरको करेसावारीमा फलेको हरियो सागसब्जी आफ्ना छिमेकीहरूलाई दिएर भावनात्मक रूपमा नजिकका साथी बनेका थिए । कतिपय अवस्थामा त्यस्ता छिमेकीहरूले समेत मतदानमा भाग लिएर मत दिएका थिए ।

    यसैले यहाँका स्वतन्त्र अध्येताहरू फर्सिको मुन्टा डिप्लोमेसीको रणनीति चुनावी अभियानमा फलदायी भएको बताउँछन् । टेक्सासमा बसेर वित्तीय साक्षरता अभियानमार्फत समुदायलाई सहयोग गर्दै आएका गगन केसी अमेरिकाको राजनीतिमा बढीभन्दा बढी सहभागिताको खाँचो रहेको बताउँछन् ।

    कतिपय विषयमा कानून, विधिविधान र अधिकारको बारेमा जानकारी लिन पनि राजनीतिक सहभागिताको खाँचो रहेको उनले बताए । नेप्लीज अमेरिकन एलायन्स फर एक्सनका उपाध्यक्ष अर्जुन हमाल अझै नेपाली अमेरिकीले यो मूलधारको राजनीतिमा सक्रिय सहभागिता जनाउन नसकेको बताउँछन् ।

    टेक्सासमा रहेका टीका पौडेलको चुनावी अभियानमा खटेका नेपाल–अमेरिका पत्रका संघ नेजाका अध्यक्ष विकासराज न्यौपाने अमेरिकाको स्थानीय तहको सरकार सञ्चालनको प्रक्रिया सिक्न स्थानीय तह, राज्य स्तरको लागि राज्य तहको र संघीय सरकारको लागि कंग्रेस सिनेटको अभियानमा सहभागी हुनुपर्ने बताउँछन् ।

    उनले भने, ‘अमेरिकाको राज्य सञ्चालनको बारेमा बुझन निर्वाचनमा होमिनु भएकाहरूलाई हरेक तबरले सहयोग गर्नुपर्ने हामीहरूको दायित्व पनि हो ।’ अमेरिकामा राजनीति गर्न महत्वपूर्ण पाटो आर्थिक पक्ष हुन्छ । आफ्ना तल्लो एकाईका नागरिकले दिने चन्दा, स्थानीय संघ/संस्थाले दिने चन्दा र कर्पोरेट चन्दाका आधारमा उम्मेदवारको क्षमता मापन गरिन्छ ।

    यसरी उठाइएको चन्दाको महत्वपूर्ण हिस्सा आफ्नाे एजेण्डा समेटेर पठाइने चिठी र पर्चाहरूमा बढी खर्च हुन्छ । यसैगरी डिजिटल विज्ञापन र कार्यालय व्यवस्थापनको लागिसमेत सोही चन्दाको आधारमा खर्च गर्नुपर्ने हुन्छ ।

    यसरी संकलन गरिएको रकम, व्यक्तिको विवरण र खर्चसमेत सम्बन्धित राज्यको निर्वाचन कार्यालयमा हरेक तीन/तीन महिनामा बुझाउनुपर्ने हुन्छ । कुन राजनीतिज्ञलाई कसले, के कति सहयोग गरे ? उनीहरूले के-के शीर्षकमा खर्च गरे भन्ने जानकारी मतदाताले पाउँछन् ।

    आर्थिक पक्षको पारदर्शितालाई यहाँ प्रजातन्त्रको महत्वपूर्ण आधारशीलाको रूपमा लिने गरिन्छ । सन् २०२० को राष्ट्रपतिको चुनावलाई आधार मानेर यस चुनावलाई मध्यावधी चुनाव भनिन्छ ।

    अमेरिकाको राजनीतिमा यस्तो चुनाव दुई वर्षअघि राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रपतिले गरेका काम कारबाहीलाई नागरिकले कसरी हेरेका छन् भनेर गरिने जनमतसंग्रह पनि हो । आगामी नोभेम्बर ८ मा हुने निर्वाचनमा ३४ सिनेटर, ४३५ कंग्रेस मेन र ३६ वटा राज्यको गभर्नरको लागि निर्वाचन हुने भएको छ ।

    यसैगरी कतिपय राजयका जनरल एसेम्बली, काउन्टी एक्जुकेटिभलगायत स्थानीय निकायमा सरकार सञ्चालन गर्ने पदाधिकारीको निर्वाचन हुनेछ । अमेरिकाको राज्य सञ्चालनमा स्थानीय, राज्य र संघीय गरेर तीन तहको सरकार सञ्चालनमा रहेको छ ।

    यी सबै तहका निर्वाचन नोभेम्बर ८ तारिखको लागि तोकिएको छ । तर चुनाव हुनुभन्दा अगाडि ‘अर्लिभोटिंग’मार्फत नागरिकले मतदान दिन पाउँछन् भने हुलाकी चिठी पत्रमार्फत पनि नागरिकले मतदानमा सहभागिता जनाउन सक्छन् ।

    अमेरिकामा राष्ट्रपतिको चुनाव भने आगामी दुई वर्षपछि अर्थात सन् २०२४ मा हुनेछ । सिनेटमा ४८ डेमोक्रयाट, ४८ रिपबिलकन र दुई स्वतन्त्र सिनटेरहरू रहेका छन् ।  कुनै विधयेकमा बराबर मत परेको खण्डमा उपराष्ट्रपतिले मतदान गरेर बहुमत कायम हुने व्यवस्था छ ।

    यसैले डेमोक्रयाट पार्टी र रिपब्लिकन पार्टी दुवै सिनेटमा बहुमत सदस्यको जित हासिल गर्न चाहन्छन् । रासस

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology