वेबटिभी खबर
म्याग्दी । म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएकाले यहाँका उद्यमीले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन् । झिनीया बनाएर उद्यमीले अतिरिक्त आम्दानी गरेका हुन् ।
पाँच जनाको समूहमा झिनीया उत्पादन गर्दै आएकी बेनपा-८ शिक्षा मार्गकी गौरा पाइजाले दसैं र तिहारको समयमा झिनीयाको माग बढी हुने गरेको बताइन् ।
‘अन्य समय विवाह र छेवारमा झिनीया कोशेली लैजाने चलन छ । विदेशमा पनि लैजाने गर्छन्’, उनले भनिन्, ‘यसपालीको दसैं तिहारमा हाम्रो समूहले सात लाख बराबरको झिनीया बिक्री गरेका छौं ।’
गौरासहित हुमादेवी फगामी, बुद्धीमाया रोका, कुशल शेरपुञ्जा र तारादेवी शेरपुञ्जाले सामूहिकरूपमा झिनीया उत्पादन गर्छन् । घरायसी कामबाट बचेको समयमा झिनीया बनाउने गरेको कुशल शेरपुञ्जाले बताइन् ।
‘झिनीया आम्दानीको स्रोत बनेको छ’, उनले भनिन, ‘खेर जाने समय सदुपयोग भएको छ । घरखर्च चलाउने पैसा पनि यसैबाट जुटेको छ ।’ बेनीका साथै म्याग्दीको ग्रामिण क्षेत्र, पर्वत, पोखरा, काठमाडौं र बाग्लुङमा झिनीया बिक्री हुने गरेको छ ।
पहिले-पहिले घरायसी उपभोगका लागि मात्र झिनीया बनाउने चलन थियो । पछिल्लो समय बजारमा माग बढेपछि व्यावसायिकरूपमा झिनीया उत्पादन गर्न थालेको बेनपा-८ अस्पतालचोककी भुलकुमारी रोकाले बताइन् ।
उनले हाल ७० हजारमा झिनिया बनाउने विद्युतबाट चल्ने आधुनिक मेसिन खरिद गरेकी छिन् । तिहारका लागि मात्र पाँच बोराभन्दा बढी चामलको एक लाख पच्चिस हजार मूल्य बराबरको झिनीया बनाएर बेचेको रोकाले जानकारी दिइन् ।
चामललाई गिलो हुने गरी पकाएर मेसिनमा राखेर पेलेपछि निस्कने त्यान्द्रालाई गोलो आकारमा घाममा सुकाएपछि झिनीया तयार हुन्छ । एक दर्जन (प्रति १२ गोटा) झिनियाँलाई आकारअनुसार १३० देखि २०० सम्ममा बिक्री हुन्छ ।
बेनी नगरपालिका-७ मंगलाघाटका झिनीया उत्पादक हरिकुमार श्रेष्ठले झिनीयाको माग धेरै भएको बताए । बेनीमा झिनीया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको संख्या पचास जनाभन्दा धेरै छ ।
घरमा बनाउन झञ्जट हुने, बिग्रने डर, धेरै समयसम्म भण्डारण गरेर राख्न सकिने, आवश्यकताअनुसार फ्राई गरेर उपभोग गर्न सकिने भएकाले झिनीया प्रयोग बढेको बेनपा-२ खबराकी देवी शर्माले बताइन् ।
हेर्दा आकर्षक, खानलाई स्वादीलो, सजिलो तथा तयारी खाजाकोरूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनीया रोटीको खपत धेरै हुने गर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसीनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनीया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij