कैलाली । कैलालीको टीकापुर नगरपालिका-२ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा थिए ।
हतारमा घरबाट निस्केका उनले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा एक घण्टा कुर्नुपर्यो । डुंगा (स्टिमर)को भरमा नदी तर्नुपर्ने बाध्यताका कारण वीरबहादुर जस्ता कयौँ व्यक्ति समयमै आफ्नो गन्तव्यमा पुग्न सकेनन् ।
‘भाइटीका दिन साइतमै पुगेर टीका लगाउने मनस्थितिले घरबाट निस्किएको थिएँ । एक घण्टाभन्दा बढी समयसम्म डुंगाको पालो पर्खिन लाग्यो ।’ उनले भने, ‘नदीमा पुल भइदिएको भए कसैले कसैका लागि पर्खनुपर्ने अवस्था आउने थिएन होला ।’
एउटै डुंगामा सयौँलाई वारपार गराउनुपर्दा र यात्रुले पालो नपाउँदा समयमै गन्तव्यमा पुग्न पाएनन् । डुंगालाई एक पटक वारपार गर्न आधा घण्टा लाग्ने भएका कारणले पनि वीरबहादुरलाई गन्तव्यमा पुग्न समय लागेको हो ।
बर्दियाको पाताभारबाट टीकापुर आएका अनिश थारू पनि डुंगाको पालो पर्खेर बसेका थिए । निकै छट्पटी देखिएका उनी हतारमा थिए ।
‘तिहारको अघिल्लो दिन नै टीकापुर आएको थिएँ, दिदीले बर्दिया आउन नसक्ने भनेपछि टीका थाप्न आएको थिएँ’, अनिशले भने, ‘निकै ढिलो भयो । डेढ घण्टादेखि पालो पर्खेको अझै पालो आएको छैन । घरमा दिदीबहिनी टीका लगाउन मलाई पर्खेर बसेका छन् । कतिबेला पुगिन्छ थाहा छैन ।’
चाडपर्वको समयमा नदी वारपार गर्ने मानिसको निकै भीड लाग्ने गरेको छ । एक पटकमा १५ देखि २० जनासम्मलाई नदी तार्न सक्ने डुंगामा त्यहीँ मात्रामा सवारीसाधन पनि भरिएका हुन्छन् । नदी वारपार गर्ने अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।
एउटा व्यक्तिले नदी तर्दा २५ र मोटरसाइकलको ५० तिर्नुपर्छ । नदीसम्म सवारीसाधन नभएकालाई पुग्न अझ कठिन छ । टीकापुरबाट नदीसम्म पुग्नका लागि एकमात्र विकल्प बनेको छ अटोरिक्सा । नदीसम्म पुगेको एक यात्रुको पाँच सयसम्म रिक्सा चालकले लिने गरेका छन् ।
टीकापुरका मनोज चौधरी विगत तीन वर्षदेखि त्यहीँ मार्गमा अटोरिक्सा चलाउछन् । टीकापुरदेखि सन्कट्टीसम्म पुर्याएको पाँच सय लाग्ने गरेको छ । नदी तरेर पारि बर्दिया क्षेत्रमा पुगेपछि पनि अटोरिक्साभन्दा अर्को सवारीसाधनको विकल्प छैन । त्यहाँबाट शान्तिबजार पुगेको पनि पाँच सय तिर्नुपर्ने बाध्यता छ ।
अस्तव्यस्त सडकका कारण रिक्साको भाडा महँगो हुन गएको उनले बताए । ‘बाटो निकै अप्ठ्यारो छ, पेट्रोल महँगो छ ।’ मनोजले भने, ‘बाटो राम्रो भए समयमै यात्रुलाई पुर्याउन सकिन्छ । बाटोकै कारण यात्रु मारमा परेका छन् तर हाम्रो पनि बाध्यता छ ।’
बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकासँग टीकापुरको सम्बन्ध पारिवारिक र व्यापारिकरूपमा नजिक छ । हुलाकी राजमार्गअन्तर्गत सत्तीमा पुल निर्माण भएको भए पनि त्यहाँको भन्दा बढी आवागमन सन्कट्टी र दौलतपुरबाट हुने गरेको छ ।
त्यहाँ दुवै क्षेत्रमा वषैंदेखि डुंगा सञ्चालन हुँदै आएको छ । स्थानीय सरकारले डुंगा सञ्चालन गरेबापत राजस्व संकलन गर्दै आएको छ । सनकट्टीमा पुल निर्माणका लागि गत आर्थिक वर्षमा नै बोलपत्र आह्वान भएर ठेक्कासमेत भएको छ ।
ठेक्का भएको पुल निर्माणको कुनै प्रक्रिया अहिलेसम्म नभएको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् । पुल निर्माण भएपछि सहजरुपमा आवागमन गर्न सक्ने भन्दै पुल निर्माणको काम समयमै सम्पन्न गर्न स्थानीयवासीको माग छ ।